काठमाडौं । मुक्तिनाथ क्यापिटलले निष्कासन गरेको मुक्तिनाथ म्युचुअल फण्ड-२ मा आवेदन दिने समय थपिएको छ । असोज १ गतेदेखि बिक्री खुला गरिएको उक्त योजनामा लगानीकर्ताले असोज १५ गतेसम्म आवेदन दिन सक्ने भएका छन् ।
यद्यपि, मागभन्दा बढी आवेदन परेमा तोकिएको अवधिभन्दा अगावै निष्कासन तथा बिक्री बन्द गरिने क्यापिटलले जनाएको छ ।
मुक्तिनाथ विकास बैंक कोष प्रवर्द्धक र मुक्तिनाथ क्यापिटल योजना व्यवस्थापक रहेको यस योजनाले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका कुल १० करोड इकाई बिक्री खुला गरेको हो । क्यापिटलले कुल १ अर्ब रुपैयाँ बराबरको इकाई निष्कासन गरेको छ ।
कुल इकाईमध्ये १३ प्रतिशत अर्थात् १ करोड ३० लाख इकाई कोष प्रवद्र्धक मुक्तिनाथ विकास बैंकका लागि र २ प्रतिशत अर्थात् २० लाख इकाई योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलका लागि सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको क्यापिटलले जनाएको छ ।
उक्त योजनामा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सकिनेछ ।
इकाई खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका साथै ‘मेरो सेयर’मार्फत आवेदन दिन सकिनेछ । यस योजनाको निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।