बाढीपछिको पुनःनिर्माणमा बेलायतले प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउने

काठमाडौं । भोटेकोशी बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनःनिर्माण तथा पुनःस्थापनाका लागि नेपाललाई बेलायत सरकारले प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।

पूर्वाधार विकासमन्त्री सुनील लम्साल र बेलायती दूतावासका वरिष्ठ विकास काउन्सिलर एलेक्स ल्युसहितको प्रतिनिधिमण्डलबीच सोमबार पूर्वाधार विकास मन्त्रालयमा भएको छलफलमा सहयोगबारे जानकारी गराइएको हो ।

छलफलमा भोटेकोशी बाढीपछि क्षतिग्रस्त पूर्वाधारको पुनःनिर्माण तथा पुनःस्थापनाका विषयमा महत्त्वपूर्ण छलफल भएको मन्त्रालयले जनाएको छ ।

बेलायत सरकारले बाढीबाट क्षतिग्रस्त गल्छी–रसुवागढी सडकखण्डमा आवश्यक पर्ने बेलिब्रिज निर्माण तथा जडानका साथै सो क्षेत्रमा सञ्चालन हुने पुनःनिर्माण र पुनःस्थापनाका काममा आवश्यक प्राविधिक एवं आर्थिक सहयोग उपलब्ध गराउने जानकारी दिएको छ ।

यसैगरी, नेपाल सरकारले अघि बढाएका दिगो वित्तीय व्यवस्थापन, डिजिटल रूपान्तरण तथा विपद् उत्थानशील विकासका क्षेत्रमा समेत बेलायत सरकारबाट महत्त्वपूर्ण सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार छलफलमा भोटेकोशी बाढीपछि क्षतिग्रस्त सडक, पुललगायत पूर्वाधारको पुनःनिर्माण तथा पुनःस्थापनालाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा समेत छलफल भएको थियो ।

Share News