काठमाडौं । विद्युत महसुलमा मूल्य अभिवृद्धि कर (भ्याट) छुट फिर्ता गर्न सैद्धान्तिक सहमति भएको भन्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नाम जोडेर गरिएको प्रचारप्रति अर्थमन्त्रीको सचिवालयले आपत्ति जनाएको छ ।
अर्थमन्त्रीको सचिवालयले प्रचारप्रसार गरिएजस्तो अर्थमन्त्री वाग्लेले विद्युतको भ्याटसम्बन्धी विषयमा छलफल गर्न गत साता कुनै भेटघाट तथा छलफल नगरेको स्पष्ट पारेको हो ।
अर्थमन्त्रीका प्रमुख स्वकीय सचिव नवीन ढुंगानाले विद्युतको भ्याटका विषयमा अर्थमन्त्रीले प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकमा राखेको धारणाअनुसार नै विषयको थप सहजीकरण र उपभोक्तालाई राहत दिने सम्बन्धमा मातहतका निकायबाट छलफल तथा अध्ययन भइरहेको जानकारी दिए ।
उनले विद्युत महसुलमा भ्याट छुट फिर्ता गर्ने विषयमा अर्थमन्त्रीसँग भेटघाट र छलफल भएको तथा सैद्धान्तिक सहमति भएको भन्ने प्रचारमा सत्यता नरहेको स्पष्ट पारेका छन् ।
सचिवालयले विद्युतको भ्याटसम्बन्धी विषयमा भइरहेको छलफल र अध्ययनलाई अर्थमन्त्रीको यसअघिको सार्वजनिक धारणाअनुसार बुझ्न आग्रहसमेत गरेको छ ।