काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको हालैको भारत भ्रमणलाई उपलब्धिमूलक र देशको आर्थिक हितका दृष्टिले सकारात्मक भएको निष्कर्ष निकालेको छ ।
रास्वपा सचिवालय बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पार्टी प्रवक्ता जगदीश खरेलले भ्रमणका क्रममा नेपाल–भारत आर्थिक सम्बन्ध, द्विपक्षीय साझेदारी र सहयोगका विषयमा महत्त्वपूर्ण छलफल भएको बताए ।
उनका अनुसार भ्रमणका क्रममा भारतीय पक्षबाट बाढी प्रभावित क्षेत्रका लागि प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गरिएको थियो । साथै, द्विपक्षीय हित, आर्थिक सहायता तथा आगामी आर्थिक साझेदारीका विषयमा भारतीय पक्षसँग विस्तृत छलफल भएको थियो ।
सरकारी अधिकारीसँगको औपचारिक भेटवार्ताका अतिरिक्त अन्य सरोकारवाला पक्षसँग समेत अर्थमन्त्री वाग्लेले फलदायी छलफल गरेको खरेलले जानकारी दिए । उनका अनुसार भ्रमणले नेपाल र भारतबीचको आर्थिक सहकार्यलाई थप अघि बढाउन आधार तयार गरेको पार्टीको निष्कर्ष छ ।
यसैबीच, अर्थमन्त्रीको भारत भ्रमणका क्रममा प्रधानमन्त्री कार्यालय, अर्थमन्त्रीको कार्यकक्षलगायत औपचारिक द्विपक्षीय बैठकमा नेपालको राष्ट्रिय झण्डा राखिएको तस्बिर तथा तथ्यहरू रहेको रास्वपाले जनाएको छ ।
झण्डाको विषयलाई लिएर भइरहेको चर्चाप्रति रास्वपाले त्यसलाई सामान्य प्राविधिक विषयका रूपमा लिनुपर्ने धारणा राखेको छ । पार्टीले यस्तो विषयलाई अनावश्यक रूपमा उचाल्न आवश्यक नरहेको जनाएको छ ।
रास्वपाले अर्थमन्त्री वाग्लेको भारत भ्रमण समग्रमा नेपालको राष्ट्रिय हित र अर्थतन्त्रलाई थप चलायमान बनाउने दृष्टिले सकारात्मक रहेको निष्कर्ष निकालेको छ ।
यूएन महासभाका लागि सरकारलाई नीतिगत निर्देशन
रास्वपा सचिवालय बैठकले प्रधानमन्त्री बालेन्द्र शाह र परराष्ट्रमन्त्री शिशिर खनाललाई संयुक्त राष्ट्रसंघको महासभामा नेपालको सहभागिताका लागि आवश्यक तयारी गर्न नीतिगत निर्देशनसमेत दिएको छ ।
बैठकले प्रधानमन्त्री, परराष्ट्रमन्त्रीसहित महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डललाई नेपालको पछिल्लो राजनीतिक तथा आर्थिक अवस्थासँगै अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुपर्ने विषयमा केन्द्रित भएर तयारी गर्न सुझाव दिएको हो ।
रास्वपाको निर्णयमा भनिएको छ, ‘संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जान लाग्नुभएका सम्माननीय प्रधानमन्त्री, परराष्ट्र मन्त्रीलगायतको कार्यदललाई नेपालको भोटेकोशी विपदसँग जोडिएका बहुआयामिक पक्षहरू, बदलिँदो राजनीतिक परिस्थिति, समृद्धि, अन्तर्राष्ट्रिय सम्बन्ध र विश्वमञ्चमा नेपालको भूमिकाका विषयमा सम्बोधन केन्द्रित गर्नेगरी तयारी गर्न नीतिगत निर्देशन दिइएको छ ।’
बैठकले महासभालाई नेपालको विपद् व्यवस्थापन, बदलिँदो राजनीतिक परिस्थिति, आर्थिक समृद्धि, अन्तर्राष्ट्रिय सम्बन्ध र विश्वमञ्चमा नेपालको भूमिकाबारे नेपालको धारणा प्रभावकारी रूपमा प्रस्तुत गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएको छ ।