काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले संशोधनको नाममा वर्तमान संविधानलाई विकार बनाउने खेल भइरहेको आरोप लगाएका छन् ।
राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारी ठगीको जालो’ विमोचन कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् ।
उनले संविधान संशोधन तत्काल आवश्यक नरहेको बताए ।
पहिला संविधानको सीमावलोकन गरेर अनि संसोधन गर्नुपर्नेमा भएमा सर्वदलीय सहमतिमार्फत गर्नुपर्ने उनको भनाइ छ ।
तर अहिले संशोधनका नाममा संविधानको मर्म र भावनालाई कमजोर बनाउने प्रयास भइरहेको उनले बताए ।
खनालले भने, ‘अहिले संशोधनको नाममा यो संविधानलाई विकार र विकृति तर्फ लाने कोसिस भइरहेको छ । यो संविधानको कमसेकम मर्म र भावनालाई चाहिँ संशोधन गर्नु हुँदैन । यसमा भएका त्रुटिहरू, कमजोरीहरूलाई साँच्चै नै केलाएर संशोधन गर्ने कुरा बेग्लै हो । त्यो भन्दा अगाडि हामीले सीमावलोकन गर्नुपर्ने आवश्यकता छ ।’
उनले समय र सन्दर्भविना नै संविधान संशोधनको हल्ला चलाइएको बताए ।
‘बेला न कुबेलाका मतलबी बाजाहरु बजाउँदै यो संशोधनका हल्लाहरु जो मचाइएका छन्, यी बिल्कुल अनर्थका कुराहरु हुन् । संविधान संशोधन भनेको सामान्य त्यो गट्टी खेल जस्तो होइन, ’ उनले भने ।
खनालले संविधान संशोधनलाई सामान्य राजनीतिक विषयका रूपमा नलिई गम्भीर र जिम्मेवारीपूर्वक अघि बढाउनुपर्नेमा जोड दिए ।
संशोधनको प्रक्रियामा सम्पूर्ण राष्ट्र तथा सबै राजनीतिक दललाई सहभागी गराई व्यापक छलफल गर्नुपर्ने उनको भनाइ छ ।