काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेस प्रदेश महाधिवेशन रोकिएपछि त्यसका कारण खोज्न गठित अडिट समितिले प्रारम्भिक प्रतिवेदन पार्टी नेतृत्वलाई बुझाएको छ ।
आइतबार (आज) पार्टी केन्द्रीय कार्यालय चःमतीमा बसेको सचिवालय बैठकमा समितिका संयोजक तथा सहमहामन्त्री हरि ढकालले प्रारम्भिक प्रतिवेदन बुझाएका हुन् ।
प्रतिवेदनमा मधेस प्रदेशमा अधिवेशन प्रक्रिया अघि बढ्न नसक्नुका कारण र पार्टीभित्र देखिएका आन्तरिक समस्याबारे अध्ययन गरिएको छ ।
रास्वपा प्रवक्ता जगदीश खरेलले समितिले प्रारम्भिक प्रतिवेदन बुझाए पनि विस्तृत प्रतिवेदन भने तयार हुँदै गरेको जानकारी दिए ।
उनका अनुसार पूर्ण प्रतिवेदन तयार भएपछि पुनः पार्टीलाई बुझाउने समितिले जानकारी गराएको छ ।
मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सामा मात्रै रास्वपाको धिवेशन सम्पन्न भएको छ ।
अन्य जिल्लामा अधिवेशन प्रक्रिया अघि बढ्न नसकेपछि पार्टीले सहमहामन्त्री ढकालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।
मधेसमा अधिवेशन प्रक्रिया रोकिएको विषयलाई रास्वपाभित्रको संगठनात्मक चुनौतीका रूपमा हेरिएको छ ।
सचिवालय बैठकले अब रोकिएका पार्टी गतिविधिलाई निरन्तरता दिने निर्णयसमेत गरेको छ । पार्टीका केही विभागमा सदस्य मनोनयन गर्ने निर्णय पनि बैठकले गरेको खरेलले बताए ।
भोटेकोशी बाढी : डीएनए परीक्षणदेखि बेपत्ताको अवस्था यकिन गर्न सरकारलाई दबाब
रास्वपाले बाढीपछि पहिचान हुन नसकेका शवको डीएनए परीक्षण तत्काल गर्न र पीडित परिवारलाई राहत उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ ।
अझै सम्पर्कविहीन नागरिकको अवस्था यथाशीघ्र यकिन गर्नुपर्नेमा पनि बैठकले जोड दिएको छ ।
कानुनी प्रक्रियाका कारण बेपत्ताको अवस्था यकिन गर्न समस्या भए आवश्यक कानुनी व्यवस्था गरेर परिवारको सहमतिमा प्रक्रिया अघि बढाउनुपर्ने रास्वपाको निष्कर्ष छ ।
यसैगरी, भदौ १० गते रसुवामा बाढी आएपछि स्थगित गरिएका पार्टीका गतिविधि आइतबारदेखि पुनः सञ्चालन गर्ने निर्णय पनि सचिवालय बैठकले गरेको छ ।
बैठकमा उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्लेले आफ्नो हालै सम्पन्न भारत भ्रमणबारे जानकारी गराएका थिए ।
सभापति रवि लामिछानेले पार्टी, संसद् र सरकारबीच समन्वय कायम गर्दै काम गर्न नेताहरूलाई निर्देशन दिएका छन् ।