एमाले सचिवालय बैठक ४ बजे सर्‍यो, कार्यदलको माइन्युट तयार हुन बाँकी

काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकले तीन छुट्टाछुट्टै प्रतिवेदनलाई एकीकृत गरी पार्टी सचिवालयमा पेश गर्ने निर्णय गरेपछि सचिवालय बैठक ४ बजेसम्मका लागि सरेको छ ।

बिहानदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको कार्यदल बैठकले निर्वाचन समीक्षा र पार्टी पुनर्गठनसँग सम्बन्धित प्रतिवेदनहरूलाई समेटेर एउटै प्रतिवेदन तयार गर्ने निर्णय गरेको हो । उक्त प्रतिवेदन सचिवालय बैठकमा पेश गर्ने तयारी छ ।

तर, कार्यदल बैठकका निर्णयलाई औपचारिक माइन्युटमा समेट्ने काम पूरा हुन समय लाग्ने भएपछि यसअघि दिउँसो १ बजेका लागि तय गरिएको सचिवालय बैठक ४ बजेसम्मका लागि सारिएको हो ।

कार्यदलका एक नेताका अनुसार बैठकका निर्णयमा सहमति जुटिसकेको भए पनि त्यसलाई औपचारिक रूपमा माइन्युट गर्ने काम भइरहेको छ । माइन्युट तयार भएपछि कार्यदलको प्रतिवेदन सचिवालयमा पेश गरिनेछ ।

कार्यदलमा निर्वाचन परिणामको समीक्षा, पार्टी पुनर्गठन तथा आगामी संगठनात्मक दिशासहितका विषयमा विभिन्न प्रतिवेदनमाथि छलफल भएको थियो । तीनवटै प्रतिवेदनलाई समेटेर साझा निष्कर्षसहितको प्रतिवेदन सचिवालयमा बुझाउने निर्णय भएको नेताले बताए ।

कार्यदलको प्रतिवेदनमाथि सचिवालय बैठकले आवश्यक निर्णय लिएपछि असोज ५ देखि ७ गतेसम्म बस्ने केन्द्रीय कमिटी बैठकका लागि एजेन्डा तय गर्ने एमालेको तयारी छ । 

Share News