पश्चिम नवलपरासीबाट ८० लाखभन्दा बढीको अवैध मोबाइल पार्टस् बरामद

काठमाडौं । सशस्त्र प्रहरी बलले पश्चिम नवलपरासीबाट ८० लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध मोबाइल पार्टस् बरामद गरेको छ । 

सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस सेमरीको टोलीले बर्दघाट नगरपालिका-४ स्थित झाडीमा लुकाएर राखिएको अवस्थामा उक्त सामान बरामद गरेको हो ।

विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी निरीक्षक जगन्नाथ पौडेलको कमाण्डमा खटिएको टोलीले गएराति करिब ११:५५ बजे खोजतलास गर्दा झाडीमा अवैध रूपमा राखिएका सामान फेला पारेको हो । 

बरामद गरिएका सामानहरूमा मोबाइलको ब्याट्री, टेम्पर्ड ग्लास, इयरबड्स, स्मार्ट वाच र स्पिकर लगायत रहेका छन्, जसको अनुमानित मूल्य ८० लाख ३० हजार रुपैयाँ रहेको छ ।

सशस्त्र प्रहरी बलका सह-प्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार बरामद गरिएका सम्पूर्ण सामान आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको छ ।

Share News