काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (असोज २ गते)देखि ५० रुपैयाँ दरको नयाँ बैंकनोट चलनचल्तीमा ल्याएको छ । बैंकको मुद्रा व्यवस्थापन विभागले साविककै आकार तथा रङमा ५० रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याएको जनाएको हो ।
नयाँ नोटमा सङ्केत नम्बर ट२४ ०००००१ देखि ण७० ९९९९९९ सम्म रहनेछ । नयाँ नोटको अग्रभागमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५० रुपैयाँ पचास तुरुन्त पाइने छ’ भन्ने प्रतिज्ञामूलक वाक्यांश उल्लेख गरिएको छ ।
नोटको बायाँतर्फ सगरमाथा हिमालको चित्र तथा दायाँतर्फ लालीगुराँसको पानीछाप राखिएको छ । पानीछापको तल्लो भागमा ५० अंकसमेत रहनेछ । नोटको तल्लो भागमा ‘वि.सं. २०८२’ सिरिज उल्लेख गरिएको छ भने नोटमा गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको दस्तखत रहनेछ ।
त्यस्तै, नोटमा १.२ मिलिमिटर चौडा कागजमा बुनिएको सुरक्षण धागो राखिएको छ । उक्त धागोलाई प्रकाशतर्फ पारेर हेर्दा ‘एनआरबी’ अक्षर देखिनेछ ।
नोटको पृष्ठभागमा हिउँ चितुवाको चित्र राखिएको छ भने त्यसको माथि ‘नेपाल राष्ट्र बैंक’ लेखिएको छ । तल्लो भागमा ‘रुपिज फिफ्टी’ तथा ‘२०२५ एडी’ सिरिज नम्बर उल्लेख गरिएको छ ।
नेपाल राष्ट्र बैंकले यसअघि २०७७ असार २२ गते ५० रुपैयाँ दरको २०१९ सिरिजको बैंकनोट सङ्केत नम्बर ०००००१ देखि ९९९९९९ सम्म चलनचल्तीमा ल्याउने सूचना प्रकाशित गरेको थियो। त्यसमध्ये सङ्केत नम्बर ०००००१ देखि ९००००० सम्मका नोट मात्र चलनचल्तीमा ल्याइएको बैंकले जनाएको छ ।
बैंकले नयाँ नोटलाई राष्ट्रको सम्पत्ति भएकाले यसको जतन गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।