काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विनाशकारी बाढीमा सम्पर्कविहीन भएका कर्मचारी र कामदारको परिवारका लागि तात्कालीन राहत प्याकेज घोषणा गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको अध्यक्षतामा बुधबार साँझ बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले राहत प्याकेज दिने निर्णय गरेको हो ।
बाढीबाट १३ वटा जलविद्युत् आयोजनामा क्षति भएको छ भने थुप्रै आयोजनाको कर्मचारी र कामदारहरू सम्पर्कविहीन छन् ।
प्राधिकरणअन्तर्गतमात्रै ४७ जना कर्मचारी र कामदार सम्पर्कविहीन छन् ।
सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार राहतको पहिलो प्याकेजमा तत्कालका लागि राहतस्वरूप बेपत्ता भएका स्थायी कर्मचारी, ज्यालादारी तथा सेवा करारका कामदारको नजिकको हकवालालाई प्रति कर्मचारीरकामदार ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ ।
दोस्रोमा स्थायी कर्मचारीको नजिकको हकवालालाई प्राधिकरणबाट के कति क्षतिपूर्ति वा के रकम दिने भन्ने सम्बन्धमा अर्को निर्णय नभएसम्मका लागि वा भदौदेखि बढीमा ६ महिनाको लागि सम्पर्कविहीन भएका स्थायी कर्मचारीको नजिकको हकवालालाई बेपत्ता कर्मचारीको तहको सुरु तलब स्केलको ५० प्रतिशत रकम निर्वाह स्वरूप उपलब्ध गराउने निर्णय भएको छ ।