गुणस्तर नपुगेपछि ग्लिपिड–१ औषधी बजारबाट फिर्ता गर्न विभगको निर्देशन

काठमाडौं । औषधीको गुणस्तर परीक्षण गर्दा तोकिएको मापदण्ड पूरा नभएपछि ‘ग्लिपिड–१’ नामक औषधि बजारबाट तत्काल फिर्ता गर्न औषधी व्यवस्था विभागले निर्देशन दिएको छ ।

विभागले राष्ट्रिय औषधी प्रयोगशालामा परीक्षणका लागि प्राप्त नमुना परीक्षण गर्दा टाइम फार्मास्युटिकल्स प्रालि, नवलपरासीले उत्पादन गरेको ग्लिपिड–१ औषधीको एक समूह न्यून गुणस्तरको पाइएको जनाएको हो । 

विभागका अनुसार उक्त औषधीमा ग्लिमेपिराइड १ मिलिग्राम रहेको छ । औषधीको समूह नम्बर जीएम–०७०, उत्पादन मिति अप्रिल २०२६ र म्याद सकिने मिति सेप्टेम्बर २०२७ रहेको छ ।

प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उक्त औषधि संयुक्त राज्य अमेरिकाको औषधी मापदण्डसम्बन्धी पुस्तकको सन् २०२६ को संस्करणमा तोकिएको घुलनशीलता परीक्षणमा निर्धारित मापदण्डअनुसार नभएको पाइएको विभागले जनाएको छ । 

गुणस्तरमा समस्या देखिएपछि विभागले उक्त समूह नम्बर जीएम–०७० को औषधीको बिक्री–वितरण रोक्न तथा बजारमा रहेका औषधी तत्काल फिर्ता गर्न सम्बन्धित उत्पादक तथा व्यवसायीलाई निर्देशन दिएको छ ।

साथै,. विभागले उक्त समूहको औषधीको सिफारिस, बिक्री–वितरण तथा प्रयोग नगर्न सम्बन्धित सबैलाई सूचित गरेको छ । फिर्ता गरिएको औषधीको विवरण विभागमा पेश गर्नसमेत भनिएको छ ।

उक्त औषधी मधुमेह नियन्त्रणका लागि प्रयोग हुने ग्लिमेपिराइडयुक्त औषधी हो । विभागले गुणस्तर परीक्षणमा समस्या देखिएको जीएम–०७० समूहको औषधी मात्र बजारबाट फिर्ता गर्न निर्देशन दिएको हो ।

Share News