प्रधानमन्त्री शाहको अमेरिका भ्रमण टोलीमा को–को छन् ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औं महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै असोज ६ गते अमेरिका जाने भएका छन् ।

यसअघि परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने तयारी भए पनि पछिल्लो निर्णयअनुसार प्रधानमन्त्री स्वयं महासभामा सहभागी हुन लागेका हुन् ।

प्रधानमन्त्री शाहले असोज ८ गते महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ । उनी असोज ९ गते स्वदेश फर्कने तयारीमा छन् । 

प्रधानमन्त्रीको नेतृत्वमा जाने प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनाल, परराष्ट्र सचिव अमृतबहादुर राई, परराष्ट्र मन्त्रालयका सहसचिवहरू कृष्णप्रसाद ढकाल र कुमारराज खरेल तथा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकराज थापा रहनेछन् ।

त्यस्तै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, निजी सचिव सुभाष शर्मा र प्रदीप परियार तथा प्रधानमन्त्रीका फोटोग्राफर विनय शाक्य पनि भ्रमण टोलीमा रहनेछन् ।

महासभामा प्रधानमन्त्री शाहले नेपालको तर्फबाट सम्बोधन गर्नुका साथै विभिन्न मुलुकका प्रतिनिधि तथा उच्च अधिकारीसँग भेटवार्ता गर्ने तयारी छ । 

परराष्ट्रमन्त्री खनालले पनि महासभाका क्रममा विभिन्न मुलुकका समकक्षी तथा कूटनीतिक प्रतिनिधिसँग द्विपक्षीय र साइडलाइन भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्रीको सम्बोधनमा नेपालले भोगिरहेको जलवायु जोखिम, जलवायुजन्य विपद्, जलवायु न्याय तथा अन्तर्राष्ट्रिय सहयोगका विषय उठाउने तयारी गरिएको छ ।

पछिल्लो समय भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको क्षतिलाई समेत अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने तयारी छ ।

परराष्ट्र सचिव राईसहित मन्त्रालयका अधिकारीहरूले महासभाका औपचारिक कार्यक्रम तथा द्विपक्षीय भेटवार्तामा कूटनीतिक समन्वय गर्नेछन् । न्यूयोर्कस्थित नेपाली स्थायी नियोगले महासभाका कार्यक्रम र उच्चस्तरीय भेटवार्ताको व्यवस्थापनमा समन्वय गर्नेछ ।

प्रधानमन्त्री शाहको अमेरिका भ्रमण छोटो अवधिको हुनेछ । महासभाको उच्चस्तरीय सत्रमा सम्बोधन गरेपछि उनी असोज ९ गते नेपाल फर्किने तयारीमा छन् ।

सरकारले अन्तिम प्रतिनिधिमण्डल तथा भ्रमण कार्यक्रम औपचारिक रूपमा सार्वजनिक गरेपछि टोलीमा सहभागी सदस्यको संख्या वा नाममा परिवर्तन हुन सक्नेछ ।

Share News