काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको माछापोखरीस्थित नापी टोलीका प्रमुख नापी अधिकृत डिल्लीबहादुर वलीलाई ९ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ ।
छुट जग्गा दर्ताका लागि आवश्यक सिफारिससहितको मिसिल भूमि प्रशासन कार्यालय, मनमैजुमा पठाइदिने भन्दै वलीले सेवाग्राहीसँग घुस मागेको उजुरी परेको अख्तियारले जनाएको छ ।
उजुरीका आधारमा अख्तियार टंगालबाट खटिएको टोलीले वलीलाई ९ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो । उनलाई काठमाडौंको टोखा नगरपालिका–५, वसुन्धरा चोकस्थित एक रेस्टुरेन्टबाट भदौ ३१ गते पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
वली जिल्ला काठमाडौं, नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नम्बर नापी टोली, माछापोखरीका टोली प्रमुख हुन् ।
पक्राउ परेका वलीविरुद्ध घुस/रिसवत भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ ।