देउवाबाट १५औँ महाधिवेशन उद्घाटन गराउन गगन तयार

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशन पूर्वसभापति शेरबहादुर देउवाबाट उद्घाटन गराउन आफू तयार रहेको बताएका छन् ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा सभापति थापाले देउवाले महाधिवेशन उद्घाटन गरिदिए आफूलाई कुनै आपत्ति नरहेको स्पष्ट पारेका हुन् ।

बैठकमा उनले पूर्वसभापतिका रूपमा देउवाको उपस्थितिलाई सम्मानका रूपमा लिने धारणा राखेका थिए । ‘पूर्वसभापतिले आएर महाधिवेशन उद्घाटन गरिदिने कुरामा सम्मान हुन्छ,’ थापाले भने ।

कांग्रेसभित्र १५औँ महाधिवेशनको तयारीसँगै पूर्वसभापति देउवाको भूमिकालाई लिएर विभिन्न तहमा बहस भइरहेका बेला थापाको यस्तो धारणा आएको हो ।

महाधिवेशनको मिति, प्रतिनिधि व्यवस्थापन तथा पार्टीको आन्तरिक संरचनालगायत विषयमा कांग्रेसले तयारी अघि बढाइरहेको छ। यसैक्रममा नेतृत्वबीच देखिएको मतभेदलाई व्यवस्थापन गर्दै महाधिवेशन सम्पन्न गर्ने विषयमा समेत केन्द्रीय समितिमा छलफल भइरहेको छ।

सभापति थापाले पूर्वसभापतिलाई महाधिवेशन प्रक्रियाबाट अलग राख्नेभन्दा पार्टीको परम्परा र भूमिकालाई सम्मान गर्दै अघि बढ्नुपर्ने संकेत गरेका छन्।

Share News