काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल रेडक्रस सोसाइटीलाई सर्पदंश उपचारमा प्रयोग हुने उपकरण हस्तान्तरण गरेको छ ।
बैंकको दमक शाखामार्फत दमक नगरपालिका–७ स्थित नेपाल रेडक्रस सोसाइटीलाई कार्डियो मोनिटर र सक्सन मेसिन हस्तान्तरण गरिएको हो । यी उपकरण सर्पदंशलगायत आकस्मिक अवस्थाका बिरामीको उपचारमा उपयोगी हुने बैंकले जनाएको छ ।
बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले रेडक्रस सोसाइटीकी सभापति गोमा देवी प्रसाईं बुढाथोकीलाई उक्त उपकरण हस्तान्तरण गरेका हुन् ।
सभापति बुढाथोकीले बैंकलाई धन्यवाद दिँदै कार्डियो मोनिटरले सर्पदंशका कारण गम्भीर अवस्थामा पुगेका बिरामीको स्वास्थ्य अवस्था निगरानी गर्न तथा सक्सन मेसिनले श्वासप्रश्वाससम्बन्धी आकस्मिक अवस्थामा उपचारमा सहयोग पुग्ने बताइन् ।
कार्यक्रममा बैंकका प्रदेश प्रमुख भुसालले स्वास्थ्य सेवा समुदायको आधारभूत आवश्यकता भएकाले स्थानीयस्तरमा स्वास्थ्य सेवाका स्रोतसाधन थप प्रभावकारी बनाउन सहयोग गर्न पाउँदा बैंक गौरवान्वित भएको बताए ।
उनले बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको जानकारी दिए ।
कार्यक्रममा बैंकका कर्मचारी तथा नेपाल रेडक्रस सोसाइटीका पदाधिकारी र सदस्यहरूको उपस्थिति थियो । बैंकले आगामी दिनमा पनि मानवीय तथा सामाजिक कार्यलाई प्राथमिकताका साथ अघि बढाउने जनाएको छ ।