काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले पार्टीभित्र जारी विवादमा सभापति गगन थापालाई समर्थन गर्ने भएका छन् ।
विराटनगरबाट बुधबार बिहान काठमाडौं आएका पराजुलीले सभापति थापासँग भेटवार्ता गरेपछि आफू थापाको साथमा रहेको बताएका हुन् । भेटपछि उनले पार्टीको पछिल्लो आन्तरिक परिस्थितिमा सभापति थापालाई समर्थन गर्ने स्पष्ट संकेत दिएका छन् ।
पराजुली नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । उनी विराटनगर महानगरपालिकाका संस्थापक नगर प्रमुखसमेत हुन् ।
२०७९ सालको प्रदेशसभा निर्वाचनमा मोरङबाट प्रदेशसभा सदस्य निर्वाचित भएका पराजुली प्रदेश सरकारमा मन्त्रीसमेत भएका थिए ।
पार्टीभित्र नेतृत्व र संगठनात्मक विषयलाई लिएर विवाद तथा ध्रुवीकरण बढिरहेका बेला पराजुलीको थापाको पक्षमा खुलेर उभिने निर्णयलाई कांग्रेसभित्र अर्थपूर्ण रूपमा हेरिएको छ ।
थापासँगको भेटपछि पराजुलीले पार्टीको वर्तमान अवस्थामा सभापतिको साथमा रहने आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।