सात प्रदेशमा दर्जनौं प्रमुख सचिव, महिला तीनजना मात्रै

बायाँबाट क्रमश: राधिका अर्याल, लक्ष्मीकुमारी बस्नेत र चन्द्रकला पाैडेल ।

काठमाडौं । संघीयता कार्यान्वयनपछि सातै प्रदेशमा प्रमुख सचिवको जिम्मेवारी सम्हाल्ने निजामती कर्मचारीको संख्या उल्लेख्य भए पनि प्रदेश प्रशासनको सर्वोच्च प्रशासनिक नेतृत्वमा महिलाको सहभागिता भने न्यून देखिएको छ ।

उपलब्ध प्रदेश सरकारका अभिलेखअनुसार संघीयता कार्यान्वयनयता सातै प्रदेशमा दर्जनौं सचिवले प्रमुख सचिवको जिम्मेवारी सम्हालिसकेका छन् । 

तर फरक व्यक्तिका आधारमा गणना गर्दा हालसम्म तीनजना महिलामात्र प्रदेशको प्रमुख सचिव बन्न सफल भएका छन् ।

प्रदेशगत रूपमा हेर्दा प्रमुख सचिवको जिम्मेवारीमा सबैभन्दा बढी हेरफेर बागमती प्रदेशमा भएको देखिन्छ । 

बागमतीमा हालसम्म १४ जना प्रमुख सचिवले जिम्मेवारी सम्हालिसकेका छन् । त्यसपछि मधेश प्रदेशमा १३ जना, गण्डकीमा १२ जना, कोशीमा ११ जना, लुम्बिनीमा १० जना, कर्णालीमा १० जना र सुदूरपश्चिममा ९ जना प्रमुख सचिव भइसकेका छन् ।

महिला प्रमुख सचिव बनेका प्रदेश भने चारवटा छन् । गण्डकी, लुम्बिनी, कर्णाली र कोशी प्रदेशमा महिलाले प्रमुख सचिवको जिम्मेवारी सम्हालेका छन् । प्रदेशगत नियुक्तिका प्रमुख सचिवको जिम्मेवारी सम्हाल्ने महिला प्रमुख सचिवको संख्या चार देखिन्छ । 

तर एउटै व्यक्तिले दुई प्रदेशमा जिम्मेवारी सम्हालेकाले फरक व्यक्तिका आधारमा भने संख्या तीन मात्रै हुन्छ ।

गण्डकी प्रदेशकी लक्ष्मीकुमारी बस्नेत प्रदेशको इतिहासमै प्रमुख सचिव बन्ने पहिलो महिला हुन् । उनले गण्डकी प्रदेशको प्रशासनिक नेतृत्व सम्हालेकी थिइन् ।

बस्नेत २०८० को साउन ११ देखि २०८१ को असोज २ सम्म प्रदेशको प्रमुख सचिवको रूपमा कार्यरत रहेको गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ ।

त्यसपछि राधिका अर्यालले लुम्बिनी प्रदेशमा प्रमुख सचिवको जिम्मेवारी सम्हालेकी थिइन् । अर्यालले पछि कर्णाली प्रदेशको प्रमुख सचिवको जिम्मेवारीसमेत सम्हालेकी थिइन् ।

यसकारण प्रदेशगत रूपमा महिला प्रमुख सचिवको संख्या चार पुगे पनि फरक व्यक्तिको संख्या तीनमै सीमित हुन्छ । 

त्यस्तै, कोशी प्रदेशमा चन्द्रकला पौडेलले प्रमुख सचिवको जिम्मेवारी सम्हालेकी थिइन् । 

संघीयता कार्यान्वयनपछि सातै प्रदेशको प्रमुख प्रशासनिक नेतृत्वमा महिलाको प्रवेश भए पनि कुल नियुक्तिको तुलनामा उनीहरूको सहभागिता निकै सीमित रहेको देखिन्छ ।

Share News