सरकार र पार्टीको काम बाँडफाँड भएको छ, डुप्लिकेसन आवश्यक छैन : रवि लामिछाने

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्को अवस्थाबारे सरकारलाई विज्ञमार्फत अध्ययन गराई घटनाको प्रकृति पहिचान तथा नामकरण गर्नुपर्ने बताएका छन् ।

सर्वदलीय बैठकपछि बुधवार सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले पछिल्लो विपद्को प्रकृति जटिल रहेकाले अनुसन्धान र विज्ञताको आवश्यकता रहेको बताए । बैठकमा सहभागी नेताहरूबीच समेत यस विषयमा छलफल भएको र सरकारले विज्ञको अध्ययनका आधारमा घटना के हो भन्नेबारे चाँडै स्पष्ट पार्नुपर्ने विषयमा छलफल भएको उनले जानकारी दिए ।

लामिछानेले प्रधानमन्त्रीले प्रभावित क्षेत्रका स्थानीय तहका जनप्रतिनिधिसँग प्रत्यक्ष संवाद गरिरहेको भन्दै प्रधानमन्त्रीको सक्रियताको बचाउ गरे । उनका अनुसार प्रधानमन्त्रीले स्थानीय तहका राजनीतिज्ञ तथा प्रभावित क्षेत्रसँग प्रत्यक्ष जोडिएका जनप्रतिनिधिसँग भेटेर अवस्थाबारे जानकारी लिइरहेका छन् । उनले स्थानीय तहका वडाध्यक्ष तथा पालिका प्रमुखसँग फोन तथा प्रत्यक्ष भेटमार्फत अवस्थाबारे गहन छलफल भइरहेको बताए ।

उनले सरकार र राजनीतिक दलको भूमिकालाई विगतको अभ्याससँग तुलना नगर्न आग्रह गरे । उनका अनुसार अहिले पार्टीको जिम्मेवारी पार्टीले र सरकारको जिम्मेवारी प्रधानमन्त्री नेतृत्वको सरकारले सम्हाल्ने गरी कामको स्पष्ट बाँडफाँड गरिएको छ । उनले राजनीतिक दलका नेतृत्वले सरकारका काममा प्रत्यक्ष रूपमा संलग्न हुनुपर्ने अपेक्षा राखिनु र वास्तविक कामको जिम्मेवारीबीच फरक रहेको बताए ।

आवश्यकताअनुसार संवेदनशील विषयमा प्रधानमन्त्रीले स्थानीय तहका जनप्रतिनिधिसँग प्रत्यक्ष संवाद गरिरहेको भन्दै उनले सरकार र पार्टीको भूमिकालाई एउटै बनाउनुपर्ने आवश्यकता नरहेको बताए ।

उनले भने, ‘आजको बैठकमा हालको विपद्को वास्तविक स्वरूप पहिचान गर्न विज्ञहरूको अध्ययन र अनुसन्धान आवश्यक रहेको विषयमा पनि छलफल भएको छ । विषय जटिल र प्राविधिक प्रकृतिको भएकाले सरकारले विज्ञहरूको सुझावका आधारमा यसको वैज्ञानिक अध्ययन गरी यथार्थ अवस्था स्पष्ट गर्न आवश्यक छ । प्रधानमन्त्रीले प्रभावित क्षेत्रका स्थानीय तहका जनप्रतिनिधि तथा सम्बन्धित पक्षसँग निरन्तर छलफल र समन्वय गरिरहनुभएको छ।’

लामिछानेले सरकारको काममा संवेदनशीलता आवश्यक पर्ने ठाउँमा प्रधानमन्त्रीले प्रत्यक्ष रूपमा समन्वय गरिरहेको बताए । स्थानीय तहका जनप्रतिनिधिसँग फोन संवाददेखि पालिका प्रमुखहरूसँग लामो छलफलसम्मका गतिविधिलाई उनले सरकारको काम बाँडफाँडअनुसार भइरहेको अभ्यासका रूपमा व्याख्या गरे ।

उनले सरकारको काम र पार्टीको भूमिकाबीचको भिन्नतालाई लिएर उठ्ने प्रश्नलाई अहिलेको कार्यकालभरि दोहोर्याइरहन आवश्यक नरहेको समेत बताए । सर्वदलीय बैठकमा पछिल्लो विपद्को प्रकृति पहिचान, सरकारी समन्वय, राहत तथा पुनर्स्थापना र जलवायु परिवर्तनका विषयमा छलफल भएको थियो । बैठकले विपद्सम्बन्धी विषयमा राजनीतिक तथा संसदीय तहबाट थप समन्वय र अनुगमन गर्ने विषयमा समेत छलफल गरेको थियो ।

Share News