काठमाडौं । सरकारले आगामी असोज १ गतेदेखि लागु हुने गरी रोक्का रहेको सार्वजनिक सवारीसाधनको दर्ता पुनः खुला गरेको छ ।
यातायात व्यवस्था विभागका अनुसार हाललाई काठमाडौं उपत्यकाबाहिरका क्षेत्रमा सञ्चालन हुने विद्युतीय सार्वजनिक सवारीसाधन (ईभी) लाई प्राथमिकतामा राख्दै यो व्यवस्था लागु गरिएको हो ।
काठमाडौं उपत्यकाको हकमा भने तत्कालका लागि स्कुल बस र पुराना सवारीसाधनको सट्टाभर्ना गर्न चाहनेका लागि मात्र दर्ता खुला गरिएको छ ।
विभागले उपत्यकाको रुट तथा सवारी चाप व्यवस्थापनलाई ध्यानमा राखेर बाहिर मात्रै व्यापक दर्ता खुला गरिएको जनाउँदै सोही अनुसार कार्यन्वयन गर्न सबै प्रदेश सरकारहरूलाई औपचारिक सूचित गरिसकेको छ ।
यसअघि सरकारले गत जेठ ७ गतेदेखि सार्वजनिक सवारीको दर्ता प्रक्रिया पूर्ण रूपमा रोकेको थियो । विभागका निर्देशक मणिराम भुसालले उपत्यकाभित्रको यातायात व्यवस्थापनलाई असर नपर्ने गरी बाहिरका लागि मात्र खुला गरिएको जानकारी दिए ।
यसअघि विभागले साउन १८ गतेदेखि मालवाहक सवारीसाधनको दर्ता खुला गरिसकेको थियो भने असार ८ गतेसम्म एलसी (प्रतीतपत्र) खोलिएका र नेपाल भित्रिइसकेका सार्वजनिक सवारीको पनि दर्ता प्रक्रिया अघि बढाएको थियो ।