सहज बन्ने भयो ग्यास अभाव

धमाधम काठमाडौं भित्रिँदै लोड बुलेट

काठमाडौं । बजारमा देखिएको खाना पकाउने एलपी ग्यासको अभाव अब बिस्तारै सहज बन्दै गएको उद्योगी तथा व्यवसायीहरूले बताएका छन् । सडक अवरोधका कारण काठमाडौं उपत्यकाका उद्योगमा ग्यास आपूर्ति प्रभावित भए पनि पछिल्लो समय आपूर्ति बढेको र केही दिनमै बजार सामान्य अवस्थामा फर्किने व्यवसायीहरूको दाबी छ । 

नेपाल ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिवहरि घिमिरेका अनुसार काठमाडौंका उद्योगमा ग्यास बोकेका लोड बुलेट आजदेखि प्रवेश गर्न थालेपछि दुई/तीन दिनभित्र ग्यास अभाव अन्त्य हुने अवस्था बनेको छ ।

उनले बाटो अवरुद्ध हुँदा काठमाडौंका उद्योगहरूमा ग्यासको स्टक सकिएको बताए । अहिले बाटो खुल्ने क्रमसँगै लोड भएका बुलेट उद्योगतर्फ आउने काम सुरु भएको उनकाे भनाइ छ । 

‘आजबाट लोड बुलेट काठमाडौंका उद्योगमा जान थाल्छ । त्यसपछि तीन दिनभित्र ग्यास अभाव सहज हुन्छ,’ घिमिरेले विकासन्युजसँग भने ।

उनका अनुसार पछिल्लो दिन देशभरका विभिन्न नाकाबाट १३२ वटा ग्यास बुलेट लोड भएका छन् । ती बुलेट काठमाडौंसहित विभिन्न क्षेत्रका उद्योगमा पुग्न थालेपछि आपूर्ति थप सहज हुने उनको भनाइ छ । घिमिरेले दशैं/तिहार नजिकिँदै गए पनि अब ग्यास अभाव दोहोरिने जोखिम नरहेको दाबी गरे ।

‘अहिले अभाव हटिहाल्छ, दशैं/तिहारमा अभाव हुँदैन,’ उनले भने । 

निगम भन्छ- आपूर्ति बढेको छ, अब समस्या हुँदैन

नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र शाह पछिल्लो समय ग्यासको आपूर्ति अघिल्लो अवस्थाको तुलनामा बढेको बताउँछन् । उनका अनुसार सामान्य अवस्थामा नेपालमा मासिक करिब ३०/३२ लाख सिलिन्डर बिक्री हुने गरेकोमा साउनमा ४० लाख ३६ हजार सिलिन्डर बिक्री-वितरण भएको थियो ।

भदौ २९ गतेसम्म मात्रै ३९ लाख ६१ हजार सिलिन्डर बजारमा पठाइसकिएको उनले बताए । भदौमा महिनाको अन्त्यसम्म करिब ४१ लाख सिलिन्डर बिक्री हुने अनुमान रहेको शाहको भनाइ छ । 

काठमाडौं बेसको तथ्यांक पनि आपूर्ति बढेको देखाउने खालको छ । असारमा १२ लाख ९ हजार सिलिन्डर बिक्री भएकोमा साउनमा १४ लाख ४४ हजार सिलिन्डर बिक्री भएको र भदौ २९ गतेसम्म १३ लाख १० हजार सिलिन्डर बिक्री भइसकेको निगमले जनाएको छ ।

शाहका अनुसार पछिल्लो समय खाली सिलिन्डर समयमै फिर्ता नआउनु तथा नौबिसे–हेटौंडा सडकखण्डको अवरोधका कारण आपूर्ति व्यवस्थापनमा केही समस्या देखिएको थियो । तर समग्र तथ्यांक हेर्दा आपूर्ति पुरानै अवस्थामा फर्किने क्रममा रहेको उनको दाबी छ ।

काठमाडौं उपत्यकाका लागि दैनिक औसत ४० हजार सिलिन्डर र देशभर करिब १ लाख २० हजारदेखि १ लाख ३० हजार सिलिन्डर आपूर्ति भइरहेको उनले बताए ।

‘अहिले हामीलाई सहजै महसुस भएको छ । केही उपभोक्ताले नपाएको हुन सक्छ, त्यसलाई पनि सम्बोधन गरिरहेका छौं,’ शाहले विकासन्युजसँग भने । 

नयाँ मन्त्री बिदाको दिन पनि काममा 

ग्यास अभावको समस्या समाधानका लागि मन्त्रालय, वाणिज्य विभाग, प्रशासन र निगमका कर्मचारीहरू एकै ठाउँमा बसेर काम गरिरहेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ग्यास अभाव देखिएसँगै अत्यावश्यक उपभोक्ताको गुनासो सम्बोधन गर्न क्विक रेस्पोन्स टिम (क्यूआरटी) सक्रिय छ । पछिल्लो समय गुनासोको संख्या केही घटेको र बजार पनि बिस्तारै सहज हुँदै गएको छ । नयाँ मन्त्रीका रूपमा मन्त्रालय आएका दीपककुमार साहले बिदाको दिन पनि काम गरिरहेको बताइएको छ । अहिले मन्त्री साहले मन्त्रालयका कर्मचारीहरूसँग मन्त्रालयका समस्याहरूको बारेमा अपडेट लिइरहेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका उपसचिव तथा गुनासो सुन्ने अधिकारी दुर्गा प्रसाद भुसालका अनुसार अहिले क्यूआरटीबाहेक वाणिज्य विभागबाट समेत बजार अनुगमन तीव्र पारिएको छ ।

अनुगमन र कारबाहीका गतिविधि बढेपछि ग्यास वितरणमा केही सुधार आएको उनको भनाइ छ । वृद्ध तथा अपाङ्गता भएका उपभोक्ताको हकमा समेत क्यूआरटीले डिपोसँग समन्वय गरेर ग्यास उपलब्ध गराउने प्रयास गरिरहेको उनले बताए । 

नयाँ उद्योगमन्त्री दीपककुमार साह आएपछि मन्त्रालयको सक्रिय टोली, वाणिज्य विभाग र प्रशासनका कर्मचारीबीच समन्वय बढेको र ग्यास आपूर्ति सहज बनाउन निरन्तर निर्देशन तथा छलफल भइरहेको उनको भनाइ छ । 

‘अहिले मुख्य प्राथमिकता बुलेट ल्याउने’

मन्त्री साह आएपछि तत्कालका लागि ग्यासबाहेक अन्य नयाँ कार्यक्रमभन्दा पनि ग्यासको आपूर्ति सहज बनाउने कामलाई नै प्राथमिकता दिइएको मन्त्रालय पक्षको भनाइ छ । 

भुसालका अनुसार अहिले मुख्य काम भारतबाट ग्यास बोकेर आउने बुलेटलाई सहज रूपमा नेपाल भित्र्याउने र बढीभन्दा बढी सिलिन्डर रिफिल गर्ने रहेको छ । यसअघि ट्रकमार्फत सीमित मात्रामा ग्यास ल्याइएकामा अब बुलेटमार्फत ठूलो परिमाणमा ग्यास भित्र्याउन सकिने भएकाले केही दिनमै आपूर्ति उल्लेख्य रूपमा बढ्ने मन्त्रालयको अपेक्षा छ । 

‘सरकारसँग कम्तीमा तीन महिनाको स्टक हुनुपर्छ’

नेपाल ग्यास संघका पूर्वअध्यक्ष घिमिरेले भने पटक–पटक सडक अवरोध, आन्दोलन वा विपत्तिका बेला ग्यास अभाव दोहोरिनुको मुख्य कारण पर्याप्त भण्डारण क्षमता नहुनु रहेको बताए । उनका अनुसार नेपालमा सरकारको पर्याप्त ग्यास स्टोरेज छैन । कम्तीमा तीन महिनासम्म धान्ने गरी सरकार वा उद्योगीको तहमा ग्यासको भण्डारण हुनुपर्ने उनको भनाइ छ ।

उद्योगीले ग्यास लुकाएर कृत्रिम अभाव सिर्जना गर्ने आरोप अस्वीकार गर्दै उनले ग्यास आयात र बिक्रीको विवरण पारदर्शी रहेको दाबी गरे । 

उनका अनुसार भन्सारबाट कति ग्यास भित्रियो र कुन उद्योगले कति आयात तथा बिक्री गर्यो भन्ने विवरण भन्सार विभाग र आन्तरिक राजस्व विभागबाट समेत हेर्न सकिने भएकाले ग्यास लुकाएर राख्ने अवस्था नरहेको उनको भनाइ छ ।

हालको मुख्य समस्या सडक अवरोधका कारण काठमाडौं बेसका उद्योगमा पर्याप्त ग्यास पुग्न नसक्नु रहेको र अब बुलेट आवागमन नियमित भएपछि बजार सामान्य अवस्थामा फर्किने व्यवसायीहरूको दाबी छ ।

नेपालमा सञ्चालनमा रहेका ग्यास उद्योगहरूले पूर्ण क्षमतामा काम गर्ने हो भने दैनिक २ लाख ७५ हजार खाली सिलिन्डरमा ग्यास भर्न सक्ने क्षमता रहेको छ ।

तर, काठमाडौं उपत्यकामा बजारीकरण गरिरहेका अधिकांश उद्योगका प्लान्ट बन्द भएर तराईका सीमित उद्योगबाट ग्यास भर्नुपर्ने अवस्था आएपछि बजारमा आपूर्ति व्यवस्थापन केही असहज बनेको छ ।

नेपाल ग्यास उद्योग संघका अनुसार देशभर ५८ वटा ग्यास उद्योगका सिलिन्डर बजारमा छन्। तीमध्ये केही उद्योगको दैनिक रिफिलिङ क्षमता करिब ४ हजार ५ सय सिलिन्डर रहेको छ भने सीमित उद्योगले दैनिक १० हजारदेखि १२ हजार सिलिन्डरसम्म ग्यास भर्न सक्ने क्षमता राख्छन् । 

संघका अनुसार सबै उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आएमा दैनिक २ लाख ७५ हजार खाली सिलिन्डरमा ग्यास भर्न सकिन्छ। अर्थात्, देशभरका उद्योगसँग बजारको मागअनुसार ग्यास आपूर्ति गर्न सक्ने पर्याप्त रिफिलिङ क्षमता रहेको संघको दाबी छ । 

तर, अहिलेको अवस्थामा भने उद्योगहरूको भौगोलिक अवस्थिति र ढुवानी व्यवस्थाले आपूर्ति प्रणालीमा दबाब परेको छ । काठमाडौंमा बजारीकरण गरिरहेका २४ वटा ग्यास उद्योगका प्लान्ट बन्द अवस्थामा रहेकाले ती उद्योगका सिलिन्डरमा समेत तराईमा रहेका १४ वटा उद्योगबाट ग्यास भर्नुपर्ने अवस्था आएको संघले जनाएको छ ।

काठमाडौंमा ग्यासको बजार ठूलो भए पनि यहाँका उद्योगले आफ्नै प्लान्टमा सिलिन्डर भर्न नपाउँदा खाली सिलिन्डर तराईका उद्योगसम्म पु¥याउनुपर्ने र पुनः भरिएको सिलिन्डर काठमाडौं ल्याउनुपर्ने हुन्छ । 

Share News