काठमाडौं । गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी १३ सय बढीको मृत्यु भएको पुष्टि भएको छ । अझै ४ हजार बढी मानिसहरू हराइरहेको सरकारको तथ्यांक छ ।
बाढी प्रभावित क्षेत्रमा रहेका घरका भग्नावशेषहरू, त्यस क्षेत्रमा सञ्चालित तथा निर्माणाधीन जलविद्युत आयोजनाका टनेलहरूमा खोजीकार्य भइरहेको छ । नेपाली सेना, नेपाल प्रहरी तथा तथा सशस्त्र प्रहरी गरी सुरक्षा निकायका तीनवटै निकायहरूले खोजीकार्यलाई तीव्रता दिएका छन् ।
खोजीकार्यलाई छिटो छरितो र प्रभावकारी बनाउन तालिमप्राप्त कुकुरहरूको पनि प्रयोग गरिएको छ । चिकित्सा विज्ञानलगायत खोज तथा अनुसन्धानका क्षेत्रमा विश्वले ठुलो प्रगति हासिल गरेको छ । तर एउटा कुकुरले गर्नसक्ने कामका लागि त्यस्तो क्षमताको प्रविधिको विकास किन भएन त ? यो नेपालको मात्रै समस्या हो कि अन्य देशहरूमा पनि ? यस्ता खालका प्रश्नहरू अहिले निकै उठेको छ ।
के भन्छ नेपाल प्रहरी ?
नेपाल प्रहरीको केनाइन (कुकुर) शाखाका डीएसपी कृष्णबहादुर बस्नेतले हाल नेपाल प्रहरीसँग ४५ वटा तालिमप्राप्त प्रहरी कुकुर रहेको जानकारी दिए । यी कुकुरहरू फरार अपराधी खोजी, लागुऔषध तथा विस्फोटक पदार्थ पत्ता लगाउने र प्राकृतिक विपत्तिमा खोज तथा उद्धार कार्यमा प्रयोग हुँदै आएका छन् ।
उनका अनुसार ल्याब्राडोर, जर्मन सेफर्ड, गोल्डेन रिट्रिभर, बेगल तथा बेल्जियन सेफर्ड जातिका कुकुरलाई ६ महिनादेखि एक वर्षसम्म विशेष तालिम दिएपछि मात्रै कार्यक्षेत्रमा परिचालन गरिन्छ । केही कुकुर विदेशबाट खरिद गरिन्छ केही नेपालमै प्रजनन तथा खरिद गरेर पनि प्रयोग गरिन्छ ।
तालिमप्राप्त कुकुरको घ्राणशक्ति अत्यन्त संवेदनशील हुने भएकाले उनीहरूले गन्धका आधारमा खोजी तथा अनुसन्धानमा महत्त्वपूर्ण संकेत दिने डीएसपी बस्नेतले जानकारी दिए । ‘विपद्का घटनास्थलमा होस् वा फरार अपराधीको खोजीमा, कुकुरले देखाएको संकेत र बाटो अहिलेसम्म प्रभावकारी देखिएको छ,’ उनले भने ।
उनका अनुसार अत्याधुनिक प्रविधि उपलब्ध भए पनि खोज तथा उद्धारमा कुकुर अझै प्रभावकारी माध्यम मानिन्छन् ।
‘उच्च प्रविधियुक्त उपकरण महँगा हुन्छन्, सीमित मात्रामा उपलब्ध हुन्छन् र सबै भौगोलिक क्षेत्रमा सहज रूपमा प्रयोग गर्न सकिँदैन । कुकुर भने सस्तो, सुलभ र छिटो परिचालन गर्न सकिने भएकाले विश्वभर नै केनाइनको प्रयोग बढिरहेको छ,’ उनले भने ।
नेपालमा मेटल डिटेक्टरलगायत केही खोजी प्रविधि प्रयोगमा रहे पनि ती सीमित र महँगा रहेको उनको भनाइ छ ।
‘प्रहरी कुकुरको प्रयोग गर्दा छिटो, प्रभावकारी र व्यावहारिक परिणाम प्राप्त हुने भएकाले यसको महत्त्व अझै कायम छ,’ उनले भने ।
भोटेकोशी बाढीपछिको खोजी अभियानमा हाल रसुवामा दुई, नुवाकोटमा दुई, चितवनमा एक तथा तनहुँ–गोरखा क्षेत्रमा एक गरी कुल ६ वटा प्रहरी कुकुर परिचालन गरिएको डीएसपी बस्नेतले जानकारी दिए । उनका अनुसार ती कुकुरहरूको सहयोगमा हालसम्म चारदेखि पाँचवटा शव फेला परिसकेका छन्।
यसले वैज्ञानिक प्रविधिको तीव्र विकासका बीच पनि विपद् व्यवस्थापन र खोज तथा उद्धारमा कुकुरको भूमिका अझै अपरिहार्य रहेको देखाउँछ । कुकुर र प्रविधिको संयोजन भविष्यको बाटो हुन सक्ने भए पनि हालसम्म मानव गन्ध पहिचान गर्ने क्षमतामा कुकुरकै घ्राणशक्ति सबैभन्दा भरपर्दो माध्यम बनेको छ।
विश्वको अध्ययनले के भन्छ ?
मानिसले विभिन्न किसिमका प्रविधिको विकास गरे पनि कुकुरको घ्राणशक्ति (सुँघ्ने क्षमता) लाई पूर्ण रूपमा प्रतिस्थापन गर्न सकेका छैनन् ।
अनुसन्धानकर्ताहरूका अनुसार खोज तथा उद्धारमा कुकुरहरू भग्नावशेषमुनि, हिलोभित्र, हिउँमुनि वा पानीको सतहबाट समेत मानिसको गन्ध पहिचान गर्न सक्षम हुन्छन् ।
उनीहरूले मानिसको शरीरबाट निस्कने विभिन्न रासायनिक यौगिक सास, पसिना तथा छालाबाट निस्कने सूक्ष्म कणहरूको गन्ध छुट्याउन सक्छन् ।
वैज्ञानिकहरूका अनुसार कुकुरको नाकमा करिब ३० करोडभन्दा बढी घ्राण रिसेप्टर हुन्छन् । मानिसमा भने यसको संख्या करिब ६० लाख मात्र हुन्छ । यही कारण कुकुरले अत्यन्त न्यून मात्रामा रहेका गन्धका कणसमेत पत्ता लगाउन सक्छ ।
विश्वका धेरै मुलुकमा प्राकृतिक विपद्, भूकम्प, हिमपहिरो, बाढी तथा भवन भत्किँदा खोजी अभियानमा कुकुरहरू पहिलो रोजाइमा पर्छन् । सन् २००१ को अमेरिकास्थित वर्ल्ड ट्रेड सेन्टरमा भएको ९/११ आक्रमणपछि पनि सयौं खोज तथा उद्धार कुकुर परिचालन गरिएका थिए । उनीहरूले भग्नावशेषभित्र फसेका मानिस तथा शव खोज्न महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
विपदमा शव खोज्न कुकुर नै प्रभावकारी जैविकी प्रविधि
विगत दुई दशकमा वैज्ञानिकहरूले ‘इलेक्ट्रोनिक नोज’ नामक उपकरण विकास गरेका छन् । यी उपकरणले मानिसको शरीर वा शवबाट निस्कने रासायनिक गन्ध पहिचान गर्ने प्रयास गर्छन् । केही रोबोट, ड्रोन र ग्यास सेन्सरयुक्त प्रणालीहरू पनि विकसित भएका छन्, जसले भग्नावशेषभित्र मानिसको संकेत खोज्न मद्दत गर्छन् ।
तर समस्या के छ भने विपद् प्रभावित क्षेत्र अत्यन्त जटिल हुन्छ । हावा, तापक्रम, धुलो, पानी, रसायन, धातु, माटो र अन्य गन्धहरूले वातावरणलाई प्रभावित बनाइरहेका हुन्छन् ।
यस्तो अवस्थामा प्रविधि धेरैपटक असफल हुन सक्छ । अहिलेको कुनै पनि कृत्रिम प्रणालीले खोजी कार्यमा कुकुरका संवेदनशीलता, गतिशीलता र निर्णय क्षमताको पूर्ण विकल्प दिन नसकेको अनुसन्धानकर्ताहरूले स्वीकार गरेका छन् ।
इटालीका अनुसन्धानकर्ताहरूले सन् २०२६ मा प्रकाशित अध्ययनमा खोज तथा उद्धार कार्यमा कुकुरहरूलाई अहिलेसम्म कुनै कृत्रिम उपकरणले प्रतिस्थापन गर्न नसकेको जैविक प्रविधिका रूपमा वर्णन गरेका छन् ।
केही कुकुर जीवित व्यक्तिको गन्ध पहिचान गर्न तालिमप्राप्त हुन्छन् भने केही शव वा मानव अवशेष खोज्न प्रशिक्षित गरिएका हुन्छन् ।
मृत शरीरबाट निस्कने विशिष्ट रासायनिक गन्धलाई पहिचान गर्न सक्ने ‘क्याडाभर डग’ वा ‘ह्युमन रिमेन्स डिटेक्सन डग’ विश्वभर प्रयोग हुँदै आएका छन् ।
भारतको राष्ट्रिय विपद् प्रतिक्रिया बलले हालै प्रकाशित एक अध्ययनमा क्याडाभर कुकुरहरूले पहिरो, बाढी तथा अन्य सामूहिक विपदमा शव खोजीलाई उल्लेखनीय रूपमा छिटो र प्रभावकारी बनाएको उल्लेख गरेको छ ।
भविष्यमा के होला ?
विशेषज्ञहरूका अनुसार भविष्यमा कुकुर र प्रविधि एकअर्काका प्रतिस्पर्धी होइनन्, सहकार्यकर्ता बन्नेछन् । अहिले नै धेरै देशहरूले कुकुरको शरीरमा क्यामेरा, जीपीएस, सेन्सर र सञ्चार उपकरण जडान गरेर खोजी अभियान सञ्चालन गरिरहेका छन् ।
साथै रोबोट र इलेक्ट्रोनिक नोजलाई कुकुरसँगै प्रयोग गर्ने अभ्यास पनि बढ्दो छ । भोटेकोशी बाढीपछिको खोजी अभियानले फेरि एकपटक देखाएको छ, मानिसले चन्द्रमासम्म यात्रा गरिसकेको छ, कृत्रिम बौद्धिकताले जटिल काम गर्न थालेको छ, तर भग्नावशेषभित्र जीवन वा मृत्युको संकेत खोज्ने मामिलामा कुकुरको नाक अझै पनि संसारकै सबैभन्दा भरपर्दो ‘प्रविधि’ बनेको छ ।
विज्ञानले विकल्प खोजिरहेको छ, तर अहिलेसम्म त्यो विकल्प पूर्ण रूपमा सफल भएको छैन ।