सानामा ग्यास केन्द्रमा भीषण आगलागी, साउदीमाथि हुथीको आरोप

काठमाडौं । यमनको राजधानी सानामा रहेको ग्यास केन्द्र र सरकारी तेल कम्पनीको भवनमा मंगलबार हवाई आक्रमण भएको छ । हुथी विद्रोहीले उक्त आक्रमण साउदी अरबले गराएको आरोप लगाएका छन् । आक्रमणपछि ग्यास केन्द्रमा आगलागी भएको छ भने आसपासका घर तथा पसलहरूमा समेत आंशिक क्षति पुगेको छ । 

हुथी विद्रोहीको नियन्त्रणमा रहेको अल-मसिराह टेलिभिजनकाअनुसार सानाको उत्तरी भागस्थित बानी अल–हारिस जिल्लामा रहेको अल-मफजार ग्यास स्टेसनलाई लक्षित गरी आक्रमण गरिएको थियो । आक्रमणबाट ग्यास बोकेका केही ट्याङ्करमा आगलागी भएको र दमकल तथा नागरिक सुरक्षा टोलीले आगो नियन्त्रणको प्रयास गरिरहेको जनाइएको छ । 

त्यस्तै, सानाको दक्षिणी क्षेत्रमा रहेको यमन पेट्रोलियम कम्पनीको भवनमा पनि लडाकु विमानबाट आक्रमण गरिएको थियो । हुथीको नियन्त्रणमा रहेको उक्त सरकारी कम्पनीले इन्धन वितरण तथा बजारीकरण गर्दै आएको छ । आक्रमणबाट आसपासका घर तथा पसलहरूमा समेत क्षति पुगेको टेलिभिजनले जनाएको छ । स्थानीय बासिन्दालाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले विस्फोटका कारण आसपासका बस्ती हल्लिएको र केही घरमा आंशिक क्षति पुगेको जनाएको छ । 

आगलागी जारी रहेपछि केही परिवार घर छाडेर सुरक्षित स्थानतर्फ गएका थिए । आक्रमणबाट भएको क्षतिको पूर्ण विवरण सार्वजनिक भएको छैन । हालसम्म मानवीय क्षतिको विवरण पनि प्राप्त भएको छैन । साउदी अधिकारीहरूले घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएका छैनन् ।

हुथी विद्रोही र साउदी अरबबीच तनाव बढिरहेका बेला पछिल्लो आक्रमण भएको हो । हुथीहरूले साउदी अरबका विमानस्थल, तेल पूर्वाधार र सैन्य संरचनालाई लक्षित गरी पटक-पटक क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको दाबी गर्दै आएका छन् । 

त्यसको जवाफमा साउदी नेतृत्वको गठबन्धनले हुथी नियन्त्रित क्षेत्रमा हवाई आक्रमण तीव्र बनाएको छ । सन् २०१४ को अन्त्यतिर हुथी विद्रोहीले यमनको राजधानी साना र उत्तरी क्षेत्रका अधिकांश भूभाग कब्जा गरेपछि त्यहाँ द्वन्द्व शुरु भएको थियो । त्यसपछि अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारको समर्थनमा सन् २०१५ मा साउदी नेतृत्वको गठबन्धन यमन युद्धमा सहभागी भएको थियो । 

Share News