काठमाडौं । उत्तरगया गाउँपालिका-१, मैलुङ्गमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण स्थानीय बासिन्दा र जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीहरू प्रभावित भएका छन् ।
स्थानीयका अनुसार बाढीमा परी ६०० भन्दा बढी स्थानीय तथा जलविद्युत् आयोजनाका कर्मचारीहरू प्रभावित/बगेको हुन सक्ने र करिब ४० / ५० जना बालबालिका अभिभावकविहीन भएका छन् ।
क्षति तथा मानवीय अवस्थाको वास्तविक विवरण अझै यकिन हुन बाँकी रहेको छ । बाढीपछि मैलुङ्ग क्षेत्रमा तत्काल राहत, उद्धार तथा स्वास्थ्य उपचारको आवश्यकता देखिएको छ ।
विशेषगरी बालबालिका तथा आफन्त गुमाएका प्रभावितहरूमा परेको मानसिक आघातलाई ध्यानमा राख्दै मनोसामाजिक परामर्श सहितको स्वास्थ्य सेवा तत्काल उपलब्ध गराउनुपर्ने आवश्यकता रहेको स्थानीयहरूले बताएका छन् ।
दुर्गम भूगोल र सडकको कठिन अवस्थाका कारण प्रभावित क्षेत्रमा राहत तथा उद्धार सामग्री पुर्याउनसमेत चुनौती देखिएको छ । हाल प्रस्तावित स्थलमार्ग गल्छी-धादिङबेँसी-डाडाङ्गाउँ-मैलुङ्ग हुँदै जाने रहेको छ ।
उक्त मार्गबाट चारपाङ्ग्रे अफ-रोड सवारीमार्फत करिब २८ घण्टासम्मको यात्रा गर्नुपर्ने अवस्था रहेको बताइएको छ ।
प्रभावित क्षेत्रमा खाद्यान्न, खानेपानी, कपडा, औषधि तथा अन्य अत्यावश्यक सामग्रीसँगै बालबालिकाका लागि विशेष संरक्षण र मनोसामाजिक सहयोगको आवश्यकता रहेको छ । साथै, बाढीबाट प्रभावित तथा बेपत्ता व्यक्तिको यकिन विवरण तत्काल संकलन गरी सार्वजनिक गर्नुपर्ने देखिन्छ ।
स्थानीयस्तरबाट प्राप्त प्रारम्भिक सूचनालाई आधार मान्दा मैलुङ्ग क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको देखिए पनि मृतक, बेपत्ता, विस्थापित तथा अभिभावकविहीन बालबालिकाको संख्या सम्बन्धित निकायबाट स्थलगत प्रमाणीकरण हुन बाँकी छ ।
यस परिस्थितिमा सरकारी निकाय, स्थानीय तह, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, गैरसरकारी संस्था तथा सहयोगी संघसंस्थाबीच समन्वय गरी तत्काल उद्धार, राहत, स्वास्थ्य उपचार र मनोसामाजिक सहयोगलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ ।