काठमाडौं । गत भाद्र १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको कारण चीनको केरुङ्ग नाकामा अलपत्र परेका ५ सय ७६ जना नेपाली नागरिकहरूको सकुशल उद्धार गरिएको छ ।
उनीहरुलाई नेपाल-चीन सीमावर्ती कोदारी नाका हुँदै सकुशल स्वदेश फर्काइएको हो । चीन सरकारको विशेष सहयोग तथा सीमा नाकामा सशस्त्र प्रहरी बल, नेपालको प्रत्यक्ष सहजीकरण एवं समन्वयमा उनीहरूलाई सुरक्षित रूपमा काठमाडौंतर्फ पठाईएको छ ।
स्थलमार्ग अवरुद्ध भई चीनतर्फ रोकिएका नेपाली नागरिकहरूलाई भाद्र १८ गतेदेखि भाद्र २२ गतेसम्म सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका-२ स्थित कोदारी नाकाबाट नेपाल प्रवेश गराइएको हो ।
सो नाकाबाट भाद्र १८ गते १ सय १४ जना, १९ गते रसुवाका १ सय ४५, धादिङका १ र काठमाडौंका ९ गरी जम्मा १ सय ५५ जनालाई नेपाल फर्काइएको हो ।
त्यस्तै, भाद्र २० गते ९६ जना, २१ गते दिउँसो १ सय ५ जना र २२ गते दिउँसो १ सय ६ जनालाई समेत नेपाल फर्काइएको छ ।
उनीहरुलाई स्थानीय तह तथा विभिन्न संघ-संस्थासँगको समन्वयमा सवारी साधनहरूको व्यवस्था गरी काठमाडौंतर्फ पठाइएको हो ।
सीमा क्षेत्रमा नागरिकको सुरक्षित उद्धार तथा आवागमन सहजीकरणका लागि सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउटपोष्ट तातोपानीबाट सशस्त्र प्रहरी नायव निरीक्षक भूप बहादुर बुढाथोकीको कमाण्डमा १५ जनाको विशेष टोली निरन्तर परिचालन भएको छ ।