काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण कुल ६६९ मेगावाट क्षमताका १२ वटा जलविद्युत् आयोजनाहरू (८ वटा सञ्चालनमा रहेका र ४ वटा निर्माणाधीन) गम्भीर रूपमा प्रभावित भएका छन् ।
क्षति पुगेका ११ वटा आयोजनाहरूबाट हालसम्म कुल ९३३ जना मानिसहरू सम्पर्कविहीन रहेका छन् । बाढी आएको ११ औं दिन बितिसक्दा पनि प्रतिकूल मौसम, सडक सञ्जाल विच्छेद हुनु र ठूला उपकरण पुर्याउन नसकिँदा खोजी तथा उद्धार कार्य अत्यन्तै चुनौतीपूर्ण बनेको छ ।
पूर्ण रूपमा क्षतिग्रस्त आयोजना र उद्धारको अवस्थापूर्ण रूपमा क्षति पुगेका आयोजनाहरूमध्ये २१६ मेगावाटको निर्माणाधीन माथिल्लो त्रिशूली-१ आयोजनामा बाढी आउनुअघि कार्यरत १ हजार ४३३ जनशक्तिमध्ये ५४८ जना अझै हराइरहेका छन् ।
हराइरहेकाहरूमा ९ कोरियन, ३४ चिनियाँ र ५० भारतीय नागरिक समेत रहेका छन् । शनिबार नेपाली सेनासहितको टोलीले डिसेन्डर बेसिनबाट पानी र हिलो फालेर २ नम्बर बेसिनबाट एक चिनियाँ नागरिकको सकुशल उद्धार गरेको छ भने डाउन साइडमा दुई वटा शव फेला पारेको छ ।
सो आयोजनाबाट हालसम्म ८७८ जनाको उद्धार भइसकेको छ र थप खोजीका लागि कोरियन, शेर्पा, सर्च, ड्रोन टिम, विशेष क्यामेरा तथा तालिमप्राप्त कुकुरहरू परिचालन गरिएको छ ।
यस्तै, १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाबाट ९३ जना हराइरहेका छन् । शनिबार नेपाली सेना र वरिष्ठ भूगर्भविद् विष्णु शिवाकोटीसहितको उद्धार टोली हेलिकप्टरमार्फत विद्युतगृहभित्र प्रवेश गरी नियन्त्रण कक्ष (कन्ट्रोल रुम) र ट्रान्सफर्मर क्याभर्नसम्म पुगेको थियो ।
विद्युतगृहभित्र इओटी क्रेन लेभलभन्दा माथिसम्म हिलो र लेदो भरिएको भए पनि अनुमान गरिएका ४ देखि १४ जना कर्मचारीहरू त्यहाँ फेला पर्न सकेनन् ।
अन्य आयोजनाहरूमा १२० मेगावाटको रसुवा–भोटेकोशीबाट ४ जना हराइरहेका र ५ जनाको उद्धार भएको छ । २० मेगावाटको लाङटाङ खोला आयोजनाका ३९ जना र २२ मेगावाटको चिलिमेका ६ जना सम्पर्कविहीन छन् ।
चिलिमेको विद्युतगृह पुग्ने २५० मिटर लामो सुरुङमध्ये नेपाली र भारतीय सेनाका टोलीले म्यानुअल रूपमा हालसम्म करिब १०० मिटर मात्र सफा गर्न सकेका छन् ।
५ मेगावाटको मैलुङ खोला आयोजनाका ७ जना हराइरहेका छन् भने साइट कार्यालयका ७१ जनामध्ये अन्यले सुरक्षित स्थानमा गएर ज्यान जोगाएका छन् ।
प्रभावित अन्य आयोजनाहरूबाढीबाट नेपाल विद्युत् प्राधिकरणका सञ्चालित आयोजनाहरूसमेत प्रभावित भएका छन् ।
२४ मेगावाटको त्रिशूली जलविद्युत् केन्द्रका ३ जना (२ सुरक्षागार्ड र १ कर्मचारी) हराइरहेका छन् भने ७० जना सकुशल रहेका छन् ।
१४.१ मेगावाटको देवीघाट जलविद्युत् केन्द्रका १ जना सुरक्षागार्ड र ६० मेगावाटको माथिल्लो त्रिशूली–३ए का ३९ जना सम्पर्कविहीन रहेका छन् ।
यसैगरी, निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली ३बी आयोजनाका १९१ जना हराइरहेका छन् । सो स्थानमा साना एक्स्काभेटरले ४ मिटर गहिराइसम्म उत्खनन गर्दा पनि भवनको भग्नावशेषसमेत फेला पर्न सकेको छैन ।
१५.६ मेगावाटको मिडल गङ्गाका २ जना, सञ्चालनमा रहेको २५ मेगावाटको नुवाकोट सौर्य त्रिशूली विद्युत् आयोजनाका २३ जना र अन्य १ जना गरी बाढी प्रभावित आयोजनाहरूबाट ठूलो संख्यामा मानिसहरू अझै बेपत्ता छन् ।
सुरक्षा निकाय, विशेषज्ञ टोली र स्थानीय तहको संयुक्त प्रयासमा हेलिकप्टर तथा उपलब्ध उपकरणको प्रयोग गरी हराइरहेकाहरूको खोजी कार्यलाई तीव्रता दिइएको छ ।