काठमाडौं । अकल्पनीय रूपमा आएको भोटेकोशी बाढीका कारण सिर्जित जटिल परिस्थितिमा सीमित साधनस्रोतका बाबजुद नेपाल प्रहरी उद्धार, राहत तथा सुरक्षा व्यवस्थापनमा निरन्तर खटिरहेको छ ।
पछिल्लो तथ्याङ्क अनुसार विपद् व्यवस्थापनका लागि ७ हजार ९ सय १२ जना प्रहरी कर्मचारी परिचालन भएका छन् ।
प्रभावित क्षेत्रबाट हालसम्म ६ हजार ८ सय ५३ जनाको सकुशल उद्धार गरिएको छ भने ५ हजार १५ जना बेपत्ता रहेका छन् ।
बेपत्ता नागरिकको खोजीका लागि तालिम प्राप्त कुकुर (केनाइन) र ड्रोन क्यामेराको प्रयोग गरिएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेका अनुसार प्रधान कार्यालयमा विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र स्थापना गरी २४ सै घण्टा अनुगमन भइरहेको छ, जहाँ हालसम्म १ हजार ३ सय ५१ वटा खोजी तथा उद्धारका लागि निवेदन परेका छन् ।
साथै, विदेशी नागरिकको खोजतलास र सूचना आदानप्रदानका लागि विमानस्थल र प्रहरी प्रधान कार्यालयमा मिसिङ हेल्प डेस्क सञ्चालनमा ल्याइएको छ ।
उद्धारसँगै प्रहरीले वैज्ञानिक विधिबाट शव व्यवस्थापन र पहिचानको काम गरिरहेको छ । सिन अफ क्राइम अफिसर को टोलीले कानूनी प्रक्रिया पुरा गरी फोरेन्सिक विशेषज्ञको सहयोगमा डिएनए नमुना सङ्कलन र पहिचानका लागि शवका विवरणहरू सार्वजनिक गर्दै आएको छ ।
पहिचान नभएका शवहरूबाट सङ्क्रमण नफैलिओस् भन्नका लागि सुरक्षित रूपमा डेड बडी ब्यागमा राखी व्यवस्थापन गरिएको छ ।
यसैबिच, नेपाल प्रहरी अस्पताल महाराजगञ्जले हराइरहेका व्यक्तिहरूका आफन्तको डिएनए प्रोफाइल तयार गरी शव मिलान गर्ने कार्य गरिरहेको छ ।
विपद्को फाइदा उठाएर हुन सक्ने चोरी, लुटपाट, राहतको नाममा हुने ठगी तथा सामाजिक सञ्जालमा फैलिने भ्रामक अफवाह नियन्त्रण गर्न प्रहरीले गस्ती र निगरानी बढाएको छ ।
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य उपचार र मनोपरामर्शका लागि प्रहरी अस्पतालका विशेषज्ञ चिकित्सकको टोली खटिएको छ ।
विस्थापितहरू बसेका होल्डिङ सेन्टरहरूमा पारदर्शी रूपमा राहत वितरण गर्नुका साथै महिला, बालबालिका र ज्येष्ठ नागरिकमाथि हुन सक्ने हिंसा र दुव्र्यवहार रोक्न महिला प्रहरीको विशेष टोली परिचालन गरिएको छ ।
हालसम्म प्रहरीले ४१ हजारभन्दा बढी नागरिकको सहभागितामा ९२ वटा सामुदायिक सचेतना कार्यक्रम सञ्चालन गरिसकेको छ ।
स्थानीय तह र अन्य सुरक्षा निकायसँगको समन्वयमा प्रहरीले बाढीले हिल्लाम्मे बनाएका विद्यालय, अस्पताल र घरहरूको सरसफाइ तथा मर्मतसम्भार गरी प्रयोगयोग्य बनाउन सहयोग गरिरहेको छ ।
साथै, अवरुद्ध सडक सञ्चालन र वैकल्पिक मार्गको सूचना प्रवाह गरी यात्रुहरूलाई सहजता प्रदान गरिएको छ ।
पाँगो माटो, हिलो र पुनः बाढी आउन सक्ने जोखिम कायमै रहे तापनि बहुआयमिक सुरक्षा चुनौतीको सामना गर्दै नागरिकलाई सामान्य जीवनयापनमा फर्काउन नेपाल प्रहरी आफ्नो कर्तव्य पथमा अडिग भएर लागिपरेको छ ।