त्रिवि शिक्षण अस्पतालमा शवको चाप, एउटा शवको पोस्टमार्टम गर्न ३० मिनेट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको शव त्रिवि शिक्षण अस्पतालमा ल्याउने क्रम जारी छ । क्षतविक्षत अवस्थामा ल्याइएका शवको पोस्टमार्टम गर्न प्रतिशव करिब ३० मिनेट लाग्ने गरेको प्रहरीले जनाएको छ ।

अस्पतालमा खटिएका नेपाल प्रहरीका एसपी प्रदीप सिंहका अनुसार बिहान ९ बजेदेखि बेलुकी ७ बजेसम्म शवको पोस्टमार्टम भइरहेको छ । उनले बिहीबार बिहानदेखि मात्रै २५ वटा शवको पोस्टमार्टम भइसकेको जानकारी दिए ।

शवको पोस्टमार्टमसँगै पहिचानका लागि डीएनएको नमुना पनि संकलन गर्ने गरिएको छ । हड्डी र दाँतबाट डीएनए नमुना लिइने प्रहरीले जनाएको छ । पोस्टमार्टमपछि शवलाई ब्याच नम्बर राखेर व्यवस्थापनका लागि गोकर्णेश्वर पठाउने गरिएको छ ।

गोकर्णेश्वरमा ठूलो खाल्डो बनाएर प्याक गरिएका शव राखेर व्यवस्थापन गर्ने गरिएको प्रहरीले जनाएको छ । एउटा खाल्डोमा करिब ९ देखि १० वटासम्म शव राख्ने गरिएको छ ।

प्रहरीका अनुसार शवको फोटो वा बाह्य स्वरूपबाट पहिचान भए पनि डीएनए परीक्षण नगरी आफन्तलाई शव जिम्मा लगाइने छैन । डीएनए परीक्षणबाट मृतक र आफन्तको नमुना मिलेपछि मात्रै ब्याच नम्बरका आधारमा शव सम्बन्धित परिवारलाई बुझाइनेछ ।

पोस्टमार्टम तथा शव व्यवस्थापनमा ८–९ जनाको समूह बनाएर प्रहरी तथा स्वास्थ्यकर्मी परिचालन गरिएको छ । 

शव गृहमा खटिएका प्रहरीका अनुसार हालसम्म ल्याइएका शवमध्ये पुरुषको संख्या बढी छ भने धेरै शवको अवस्था क्षतविक्षत भएकाले प्रत्यक्ष रूपमा पहिचान गर्न कठिन भइरहेको छ ।

Share News