काठमाडौं । पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा देखिएको एलपी ग्यास अभाव समाधान गर्न हेटौँडाबाट दैनिक १०० ट्रक ग्यास वैकल्पिक सडकमार्फत काठमाडौं पठाइने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आजदेखि हेटौँडाबाट वैकल्पिक सडक हुँदै भरिएका १०० ट्रक एलपी ग्यास काठमाडौं उपत्यकामा पठाई वितरण गर्ने व्यवस्था सुरु गरिएको जनाएको छ ।
भाद्र १० गते आएको बाढीका कारण पृथ्वी राजमार्गमा करिब दुई दिनसम्म लेदो जमेर सडक अवरुद्ध भएको थियो । त्यसपछि कृष्णभीर क्षेत्रमा सडक भासिएपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध रहेको मन्त्रालयले जनाएको छ । सडक अवरुद्ध हुँदा एलपी ग्यास बोकेका बुलेट काठमाडौं उपत्यकामा प्रवेश गर्न नसकेपछि केही दिनयता उपभोक्ताले ग्यास अभाव झेल्दै आएका छन् ।
मन्त्रालयका अनुसार पृथ्वी राजमार्ग पूर्णरूपमा सञ्चालनमा नआएसम्म हेटौँडाबाट वैकल्पिक मार्ग हुँदै ग्यास आपूर्ति गर्ने व्यवस्था निरन्तर कायम राखिनेछ । काठमाडौं उपत्यकामा देखिएको ग्यास अभावको समस्या नेपाल आयल निगम तथा एलपी ग्यास उद्योगी र व्यवसायीसँगको निरन्तर संवाद तथा समन्वयमार्फत आगामी केही दिनभित्रै क्रमशः समाधान हुँदै जाने मन्त्रालयले विश्वास व्यक्त गरेको छ ।
मन्त्रालयले विपद्का कारण जनधनमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै बाढीपहिरोमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै, घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
उपभोक्ताको दैनिक जीवनमा थप असहजता हुन नदिन आपूर्ति व्यवस्थालाई सहज, नियमित र प्रभावकारी बनाउन आवश्यक सबै पहल भइरहेको मन्त्रालयले जनाएको छ। आधारभूत आवश्यकतासँग जोडिएको एलपी ग्यास आपूर्तिमा कमी हुन नदिन मन्त्रालय प्रतिबद्ध रहेकोसमेत विज्ञप्तिमा उल्लेख छ ।