काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा १ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
गत भाद्र १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको गेग्रानसहितको भीषण बाढीबाट पुगेको ठूलो धनजनको क्षतिपश्चात् प्रभावित क्षेत्रको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले उक्त रकम उपलब्ध गराएको हो ।
कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंह र प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले आयोजना गरिएको एक विशेष कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन् ।
बाढीबाट भएको अप्रत्याशित जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नेशनल लाईफ इन्स्योरेन्सले विपद् प्रभावित क्षेत्रको उद्धार तथा राहत कार्यमा सक्रियताका साथ जुट्न कम्पनीका कर्मचारी एवं अभिकर्ताहरूलाई अनुरोधसमेत गरेको छ ।
साथै, प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै कम्पनीले शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।