काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
कम्पनीको भदौ ११ गते बसेको सञ्चालक समितिको बैठकले सर्कुलरमार्फत उक्त सहयोग गर्ने प्रतिबद्धता जनाएको हो ।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत नदी तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएकोप्रति कम्पनीले दुःख व्यक्त गरेको छ ।
भीषण बाढी र डुबानका कारण दर्जनौँ नागरिकले ज्यान गुमाएका छन् भने कैयौँ बेपत्ता भएका छन् । बस्ती तथा पूर्वाधारमा क्षति पुगेपछि सयौँ परिवार विस्थापित भएका छन् ।
विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा दीर्घकालीन पुनःस्थापनाका लागि भइरहेको सरकारी तथा स्थानीय प्रयासमा ऐक्यबद्धता जनाउँदै कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ५१ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो ।
कम्पनीले उक्त सहयोगबाट बाढी प्रभावितको खोज तथा उद्धार, खाद्यान्न, स्वास्थ्य उपचार र पुनःस्थापनाका कार्यमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।
प्रभु महालक्ष्मी लाइफले स्थापनाकालदेखि नै विभिन्न संकट, प्राकृतिक विपद् तथा महामारीका समयमा सहयोग गर्दै आएको जनाएको छ । कम्पनीले ‘ढुकढुक होइन, ढुक्क होऔँ’ भन्ने मूल भावनाअनुरूप सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको बताएको छ ।
कम्पनीले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । साथै, बेपत्ताको शीघ्र खोजी तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायप्रति कम्पनीले सम्मान तथा आभारसमेत व्यक्त गरेको छ ।