भोटेकोशीमा ताल बन्यो, फुट्ने जोखिम हुँदा उच्च सतर्कता अपनाउन आग्रह

फाइल तस्विर

काठमाडौं । भोटेकोशी नदीमा बाढी उत्पन्न भएको स्थानमा  ताल बनेको छ । फुटेको नदी थुनिएर ताल बनेको  फुट्ने जोखिम देखिएपछि उच्च सतर्कता अपनाउन चीनले नेपाललाई आग्रह गरेको छ ।

चीनतर्फबाट नेपालको परराष्ट्र मन्त्रालय हुँदै प्राप्त पछिल्लो सूचना अनुसार भोटेकोशी नदीमा बाढी उत्पन्न भएको स्थानमा नदी थुनिएर ताल बनेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

भू–उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषणका आधारमा भदौ १० गते बाढी सिर्जना भएको क्षेत्रमा नदी थुनिएपछि ताल बनेको र उक्त तालको आकार बढ्दै गएको सूचनामा उल्लेख गरिएको छ। 

यस अवस्थालाई ध्यानमा राख्दै बाढी पूर्वानुमान महाशाखाले अर्को सूचना जारी नभएसम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाले यात्रु, उद्धार कार्यमा खटिएका उद्धारकर्ता तथा सम्बन्धित सबैलाई नदी किनार तथा अन्य जोखिमयुक्त क्षेत्रमा नजान र सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ।

ताल फुटेमा तल्लो तटीय क्षेत्रमा थप जोखिम उत्पन्न हुन सक्ने भएकाले सम्बन्धित निकायको सूचना पालना गर्दै उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

Share News