काठमाडौं । म्याक्सस नेपालले बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनर्स्थापनाका लागि ७० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
हिमालय अर्गनाइजेसनअन्तर्गतको म्याक्सस नेपालले चीनको एसएआईसी म्याक्सस अटोमोटिभ कम्पनी लिमिटेडसँगको समन्वयमा नेपाल सरकारसँग ऐक्यबद्धता जनाउँदै उक्त सहयोग गर्ने निर्णय गरेको हो । भदौ १० गते नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायलाई राहत पुर्याउने उद्देश्यले सहयोग घोषणा गरिएको कम्पनीले जनाएको छ ।
घोषित रकममध्ये ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिनेछ । उक्त रकम नेपाल सरकारमार्फत सञ्चालन हुने राहत, उद्धार, पुनर्स्थापना तथा पुनर्निर्माणका काममा उपयोग गरिने कम्पनीले जनाएको छ ।
बाँकी २० लाख रुपैयाँ बराबरको अत्यावश्यक राहत सामग्री खरिद गरी सामाजिक संस्था तथा स्थानीय सरकारसँगको समन्वयमा बाढी प्रभावित क्षेत्रमा वितरण गरिनेछ । तत्काल सहयोग आवश्यक पर्ने र सबैभन्दा बढी प्रभावित क्षेत्र पहिचान गरी राहत सामग्री वितरण गर्ने योजना रहेको छ ।
प्रत्यक्ष राहत वितरणका लागि सम्बन्धित निकाय तथा सरोकारवालासँग समन्वय गरी प्राथमिकतामा रहेका क्षेत्र र आवश्यक सामग्री पहिचान गरिने कम्पनीले जनाएको छ । राहत सामग्रीको प्रकृति, वितरण क्षेत्र, प्रक्रिया तथा कार्यान्वयनको समयतालिका भने छलफल तथा समन्वयकै क्रममा रहेको छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम हस्तान्तरण गर्ने मिति तथा राहत सामग्री वितरणसम्बन्धी विस्तृत जानकारी आवश्यक तयारी र समन्वय पूरा भएपछि सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।
म्याक्सस नेपालले यो पहललाई नेपाल र नेपाली जनताप्रतिको दीर्घकालीन प्रतिबद्धताको प्रतीकका रूपमा लिएको जनाएको छ । विपद्को समयमा देश र समुदायसँग उभिनु सामाजिक उत्तरदायित्वको हिस्सा भएको कम्पनीको भनाइ छ ।
म्याक्सस नेपाल नेपालका लागि एसएआईसी म्याक्सस सवारीसाधनको आधिकारिक वितरक हो ।