काठमाडौं । भोटेकोशी बाढी र पहिरोका कारण प्रभावित रसुवा, नुवाकोट, धादिङ र चितवनका विभिन्न क्षेत्रमा दूरसञ्चार सेवा पुनः सञ्चालनका लागि नेपाल टेलिकमले मर्मत तथा पुनःस्थापनाको काम तीव्र बनाएको छ ।
टेलिकमले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार रसुवाका न्यौपानेचौर र राम्चे रिपिटर साइटमा हेलिकोप्टरमार्फत जेनेरेटर, ब्याट्री तथा अन्य आवश्यक उपकरण पुर्याएर सेवा सुचारु गरिएको छ ।
यसबाट न्यौपानेचौर र राम्चे आसपासका केस्पाङ (काउले), ठुलेगाउँ, तादी, फिकुरी, कालिकास्थान, ग्राङ, डाँडागाउँ, मैलुङ, पाङसाङ डाँडा, लाङटाङ र क्याङ्जिनलगायत क्षेत्रमा दूरसञ्चार सेवा सञ्चालनमा आएको कम्पनीले जनाएको छ ।
धुन्चेमा सेवा पुनः सञ्चालनका लागि पनि जेनेरेटर, इन्धन र प्राविधिक कर्मचारी परिचालन गरिएको टेलिकमले जनाएको छ ।
यस्तै, नुवाकोटको मदनपुर, बट्टार र विदुर बसपार्क तथा धादिङको बैरेनी र ठमेल डाँडामा पनि जेनेरेटर, इन्धन र प्राविधिक टोली परिचालन गरी सेवा सुचारु गर्ने काम भइरहेको छ ।
टेलिकमका अनुसार प्रभावित क्षेत्रमा प्राथमिकतामा राखिएका साइटलाई निरन्तर सञ्चालनमा ल्याउन आवश्यक उपकरण र जनशक्ति परिचालन गरिएको छ । साथै सञ्चालनमा रहेका अन्य बीटीएसमा कभरेज विस्तार, क्षमता वृद्धि र अप्टिमाइजेसनको काम पनि भइरहेको छ ।
बाढीबाट प्रभावित चार जिल्लाका कुल १५२ साइटमध्ये ९२ साइट सञ्चालनमा आइसकेका छन् भने ६० साइट अझै सञ्चालनमा आउन बाँकी छन् । चितवनका ५ मध्ये ३, धादिङका ३६ मध्ये १३, नुवाकोटका ७९ मध्ये ३१ र रसुवाका ३२ मध्ये १३ साइटमा सेवा पुनः सञ्चालन भएको टेलिकमले जनाएको छ ।
नेपाल टेलिकमले विपद्को समयमा नागरिकको सञ्चार आवश्यकतालाई सहज बनाउन सेवा निरन्तरता, पूर्वसूचना, सचेतना तथा आवश्यक प्राविधिक कार्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ ।