विपद् व्यवस्थापनमा एकजुट हुन कार्यवाहक प्रमुख डंगोलको अपिल

फाइल तस्बिर ।

काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले भोटेकोशी बाढीबाट उत्पन्न मानवीय संकटको सामना गर्न उद्धार, राहत तथा पुनःस्थापनाका काममा एकजुट हुन सबैमा अपिल गरेकी छन् ।

बुधबार बिहान भोटेकोशी नदीमा ठूलो बाढी प्रवेश गरेपछि भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै डंगोलले उद्धारको पर्खाइमा रहेका व्यक्ति तथा परिवारलाई तत्काल उद्धार र राहत उपलब्ध गराउन आग्रह गरेकी हुन् ।

उनले बाढीका कारण विस्थापित परिवारलाई पुनःस्थापित गर्ने, त्रासमा रहेका नागरिकलाई सुरक्षित र भयमुक्त वातावरण प्रदान गर्ने तथा आवश्यक मानवीय सहयोगका लागि सबै पक्ष सक्रिय हुनुपर्नेमा जोड दिएकी छन् ।

संकट व्यवस्थापनमा महानगरपालिका आफ्नो दायित्वप्रति जिम्मेवार रहेको उल्लेख गर्दै डंगोलले तीनै तहका सरकार, सुरक्षा निकाय, जनप्रतिनिधि, सामाजिक संघसंस्था, निजी क्षेत्र तथा आम नागरिकलाई समन्वयात्मक रूपमा परिचालन हुन आग्रह गरेकी छन् ।

‘यो दुःखलाई केवल समाचारका रूपमा मात्र हेरेर बस्ने होइन। हाम्रो सानो सहयोगले कसैको जीवन बच्न सक्छ । त्यसैले आफूले जे सकिन्छ, उद्धार, राहत सामग्री, यातायात वा स्वास्थ्य सेवामार्फत सहयोग गर्न म हार्दिक अपिल गर्दछु,’ उनले भनेकी छन् ।

बाढी प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित र सतर्क रहन तथा स्थानीय प्रशासन र सुरक्षा निकायको निर्देशन पालना गर्न पनि कार्यवाहक प्रमुख डंगोलले आग्रह गरिन् ।

भूगोलले छुट्याए पनि मानवीय संवेदनाका आधारमा विपद्को समयमा सबै नेपाली एकजुट हुनुपर्ने उनको भनाइ छ ।

काठमाडौं महानगरपालिका बाढी प्रभावित नागरिकलाई संकटबाट उकास्न आवश्यक सहयोग र समन्वयका लागि प्रतिबद्ध रहेको उनले जनाइन् । 

डंगोलले जीवन बचाउने र प्रभावित परिवारमा आशा जगाउने अभियानमा सबैलाई हातेमालो गर्न आह्वानसमेत गरिन् ।

Share News