काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्राकृतिक विपत्तिको सामना गर्न सबै राजनीतिक दलबीच सहकार्य र एकता आवश्यक रहेको बताएका छन् ।
सिंहदरबारमा आयोजित सर्वदलीय बैठकमा बोल्दै थापाले नेपालमा संकटका बेला राजनीतिक दलहरूबीच सहकार्य गर्ने लामो इतिहास रहेको स्मरण गरे ।
उनले अहिलेको विपत्तिमा पनि राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर सबै मिलेर काम गर्नुपर्ने बताए ।
सरकारले विपत्तिपछि गरेका केही कामबारे जानकारी प्राप्त भएको उल्लेख गर्दै थापाले उद्धार तथा राहतका लागि सरकारका नियमित साधनस्रोतबाहेक उपलब्ध अन्य स्रोत तथा संयन्त्रको समेत अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिए ।
‘हामी सबैलाई विपत्तिमा परेको अनुभव छ,’ थापाले भने, ‘अहिले खोज तथा उद्धारको आवश्यकता छ । हामी एकअर्कालाई मद्दत गर्दै ऐक्यबद्धता सुरु गरेका छौं ।’
उनले विपत्तिमा परेका नागरिकको खोजी, उद्धार र राहतलाई तत्काल प्राथमिकतामा राखेर राजनीतिक दल, सरकार तथा सम्बन्धित सबै पक्षबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए ।