काठमाडौं । नेपालका लागि डोङफेङ नामी इलेक्ट्रिक सवारीसाधनको आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले नाडा अटो शो २०२६ का अवसरमा नयाँ विद्युतीय कार नामी बक्स ई२ को बिक्री तथा बुकिङ सुरु गरेको छ ।
कम्पनीले बक्स ई२ ३३० र बक्स ई२ ४३० गरी दुई भेरियन्टमा यो कार बजारमा ल्याएको हो । नाडा अटो शोको अवधिभरका लागि बक्स ई२ ३३० को विशेष मूल्य २९ लाख ९९ हजार र बक्स ई२ ४३० को मूल्य ३१.९९ लाख रुपैयाँ कायम गरिएको छ ।
प्रदर्शनीपछि यी भेरियन्टको मूल्य क्रमशः ३० लाख ९९ हजार र ३२ लाख ९९ हजार रुपैयाँ हुनेछ भने सिल्भर तथा डुअल–टोन रङका लागि थप ५० हजार रुपैयाँ लाग्नेछ ।
सन् २०२४ मा नेपाली बजारमा प्रवेश गरेको नामी बक्सले आफ्नो आकर्षक डिजाइन, फराकिलो क्याबिन र व्यावहारिक रेन्जका कारण राम्रो पहिचान बनाएको थियो ।
सोही सफलतालाई निरन्तरता दिँदै परिमार्जित फिचरसहित ल्याइएको नयाँ बक्स ई२ ले युवा, सहरी प्रयोगकर्ता र पहिलो कार खोजिरहेका परिवारलाई लक्षित गरेको छ ।
नयाँ संस्करणमा अघिल्लो मोडलका लेभल २ एडास, अटोमेटिक पार्किङ र एम्बियन्ट लाइटिङ हटाइए पनि डार्क मोड, इन–बिल्ट कारप्ले र सुरक्षाका लागि ६ वटा एयरब्याग समावेश गरिएको छ ।
रेन्जका हिसाबले बक्स ई२ ३३० ले २३७ किलोमिटर र बक्स ई२ ४३० ले ३१७ किलोमिटर (डब्लुएलटीपी) रेन्ज प्रदान गर्छन्, जसले ग्राहकलाई आवश्यकता अनुसार रोज्ने सुविधा दिएको छ ।
हाल नेपालका सडकमा २ हजार भन्दा बढी नामीका विद्युतीय गाडी सञ्चालनमा रहेका छन् । इच्छुक ग्राहकले भदौ ९ गतेदेखि जारी नाडा अटो शोको स्टल नम्बर ए६ र ए७ मा गई नयाँ नामी बक्स ई२ को अवलोकन, अनुभव र बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ ।