काठमाडौं। गृह मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा पदयात्रा तथा भ्रमण नगर्न स्वदेशी तथा विदेशी पर्यटकहरूलाई आग्रह गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न र उच्च सतर्कता अपनाउन अपिल गरेको हो ।
विशेष गरी त्रिशूली नदी करिडोर आसपासका रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवन लगायतका क्षेत्रमा भ्रमणमा रहेका वा बसोबास गरिरहेका पर्यटकहरूलाई विशेष सावधानी अपनाउन मन्त्रालयले ध्यानाकर्षण गराएको छ ।
नदी किनार, पुल तथा होँचा क्षेत्रहरूमा नजान, स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशिका पालना गर्न र स्थिति सामान्य नभएसम्म सुरक्षित स्थानमा रहन गृह मन्त्रालयले अनुरोध गरेको छ।
गृहमन्त्री सुदन गुरुङले सर्वसाधारण तथा यात्रीहरूलाई प्रभावित राजमार्ग र नदी करिडोरहरूमा अनावश्यक आवतजावत नगर्न अनुरोध गरेका छन् । उनले भोटेकोशी र त्रिशूली नदी आसपास तथा मुग्लिनसम्मका तटीय क्षेत्रमा बस्ने बासिन्दा र पर्यटकहरूलाई अर्को सूचना नआएसम्म उच्च सतर्कता अपनाउन अपिल गरेका छन् ।
आइतबार बिहान करिब ८ः३० बजे तिब्बत क्षेत्रबाट रसुवास्थित भोटेकोशी नदीमा अचानक भीषण बाढी आउँदा ठूलो क्षति पुगेको छ । बाढीका कारण टिमुरे र स्याफ्रुबेँसी क्षेत्रका बस्तीहरूमा क्षति पुगेको छ भने भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रहरूमा उच्च जोखिम बढाएको छ । बाढी नुवाकोट र धादिङ हुँदै तल्लो तटीय क्षेत्र मुग्लिनतर्फ अघि बढिरहेको अनुमान गरिएको छ ।
उक्त क्षेत्रमा अहिले क्षतिको विवरण संकलन गर्नुका साथै आपत्कालीन उद्धार तथा राहत कार्यको समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।