भोटेकोशी बाढी : प्रधानमन्त्री बालेनले बोलाए आपत्कालीन बैठक

काठमाडौं । भोटेकोशीमा आएको बाढीपछि प्रधानमन्त्री बालेन शाहले आपत्कालीन बैठक बोलाएका छन् ।

बाढी प्रभावितको उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पदाधिकारी र सुरक्षा निकायका प्रमुखहरूसहित उच्चस्तरीय बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री शाहले उद्धार कार्यलाई तत्काल तीव्र बनाउन र जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइसकेका छन् ।

सचिवालयका अनुसार विशेषगरी भोटेकोशीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्थानीय प्रशासनलाई निर्देशन दिइएको छ । सरकारले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र जोखिम व्यवस्थापनका सबै संयन्त्र परिचालन गरेको जनाएको छ ।

Share News