इन्फिनिटी लघुवित्तका १२० फिल्ड सहायकलाई क्षमता अभिवृद्धि तालिम

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले आफ्ना फिल्ड सहायक कर्मचारीको क्षमता अभिवृद्धि गर्दै भविष्यका नेतृत्वकर्ता तयार गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

सौराहस्थित पार्क सफारी रिसोर्टमा साउन ३० गते आयोजित कार्यक्रममा संस्थाका १०२ वटै शाखामा कार्यरत १२० जना फिल्ड सहायक सहभागी थिए ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत ज्ञानीश्वर पन्तको सभाध्यक्षतामा भएको कार्यक्रममा संस्थापक सेयरधनी दिनेश अधिकारी प्रमुख अतिथि तथा नायव प्रमुख कार्यकारी अधिकृत विश्वराज श्रेष्ठ अतिथिका रूपमा सहभागी थिए । कार्यक्रमको सञ्चालन नायव प्रबन्धक कृष्ण खनालले गरेका थिए ।

कार्यक्रममा फिल्ड सहायकको ज्ञान, सीप, नेतृत्व क्षमता, निर्णय क्षमता तथा व्यावसायिक सोच विकासमा जोड दिइएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि दिनेश अधिकारीले फिल्ड सहायक संस्था र सदस्यबीच प्रत्यक्ष सम्पर्कमा रहने महत्वपूर्ण जनशक्ति भएकाले आफूलाई समयानुकूल सक्षम बनाउँदै लैजान आग्रह गरे ।

प्रमुख कार्यकारी अधिकृत ज्ञानीश्वर पन्तले जिम्मेवारी, अनुशासन र परिणाममुखी कार्यशैलीमार्फत संस्थालाई थप सशक्त बनाउन कर्मचारीलाई प्रेरित गरे । उनले क्षमतावान कर्मचारीलाई संस्थाभित्रै विकास गरी नेतृत्वको अवसर प्रदान गर्ने नीति रहेको बताए ।

नायव प्रमुख कार्यकारी अधिकृत विश्वराज श्रेष्ठले भावी नेतृत्वकर्ता बन्न फिल्ड सहायकले निरन्तर सिकाइ, सकारात्मक सोच, प्रभावकारी सञ्चार, समस्या समाधान तथा नेतृत्वदायी व्यवहारमा आफूलाई विकास गर्नुपर्ने बताए ।

तालिममा जोखिम तथा असुली विभाग प्रमुख कृष्ण खनाल, कर्जा विभाग प्रमुख अमरनाथ सेढाई, अनुगमन विभाग प्रमुख कुशल खनाल, वित्त तथा सञ्चालन विभाग प्रमुख रितु बानियाँ, आन्तरिक लेखापरीक्षण विभाग प्रमुख दीपक न्यौपाने, जनशक्ति विभाग प्रमुख प्रकाश श्रेष्ठ तथा आईटी विभागबाट रक्षा गौतमले विषयगत प्रशिक्षण दिएका थिए ।

ज्ञान, अनुभव तथा उत्कृष्ट अभ्यासको आदान–प्रदानले सहभागीको व्यावसायिक क्षमता र नेतृत्वदायी सोच विकासमा सहयोग पुगेको संस्थाले जनाएको छ ।

फिल्ड सहायकको क्षमता विकासलाई चरणबद्ध रूपमा अघि बढाउने योजनाअनुसार यो पहिलो चरणको कार्यक्रम रहेको संस्थाले जनाएको छ । आगामी चरणमा बाँकी फिल्ड सहायकलाई समेत समेटेर यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताइएको छ ।

Share News