काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर सूमहको राष्ट्रिय भेलाको समापनको क्षण । मञ्चमा नेताहरू आसनमा थिए । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतको हातमा थियो पार्टीको राजनीतिक निष्कर्ष समेटिएको प्रस्तावको कागज । कार्यक्रम समापनतिर पुग्दै थियो । तर, त्यही कागजमा लेखिएको एउटा शब्दले कांग्रेसको मञ्चलाई एकाएक तनावग्रस्त बनायो । त्यो शब्द थियो ‘हिन्दु’ ।
प्रस्ताव सार्वजनिक गर्ने तयारी भइरहेका बेला कांग्रेसभित्रको इतर समूहको भेलामा नेताहरूबीच मतभेद सतहमा आयो । विवाद यति बढ्यो कि मञ्चमै कागज खोसाखोसको अवस्था सिर्जना भयो । केही नेता आसनबाट उठेर प्रतिवाद गर्न पुगे भने केहीले प्रस्ताव सच्याउन खोजे ।
विवादको केन्द्रमा थियो– नेपालको सनातन धार्मिक पहिचान र त्यसलाई कांग्रेसको राजनीतिक दस्तावेजमा कसरी समेट्ने भन्ने प्रश्न ।
राष्ट्रिय सम्मेलनको समापनमा सनातन हिन्दु राष्ट्रको अभियान चलाउँदै आएका नेता शंकर भण्डारीले पूर्वसभापति शेरबहादुर देउवालाई सनातन धर्मबारे स्पष्ट धारणा राख्न आग्रह गरेका थिए । देउवाले आफू हिन्दु भएको बताउँदै धार्मिक आस्था राख्न पाउने अधिकारको पक्षमा बोलेपछि मञ्चको माहोल थप तातियो ।
त्यसपछि प्रस्तावमा सनातन धर्मसम्बन्धी विषय समेट्ने विषयले औपचारिक रूप लिन थाल्यो ।
एउटा शब्द, दुई धार
प्रस्तावको तेस्रो बुँदामा नेपालमा परम्परादेखि कायम रहेको धर्म–संस्कृतिलाई राष्ट्रिय पहिचानसँग जोडिएको थियो । हिन्दु, बौद्ध, किराँत र प्रकृति धर्मको संरक्षण तथा धार्मिक स्वतन्त्रताको प्रत्याभूतिसहित ‘सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने’ प्रतिबद्धता प्रस्तावमा राखियो ।
यही वाक्यांशमा कांग्रेस संस्थापक इतर समूहभित्र असहमतिको आवाज चर्कियो । नेता विमलेन्द्र निधिले मञ्चबाटै हस्तक्षेप गर्दै संविधानको मूल भावनाविपरीत हुने कुनै पनि विषय पार्टीको प्रस्तावमा राख्न नहुने धारणा राखे । संविधान निर्माणमा कांग्रेसको नेतृत्वदायी भूमिका रहेको स्मरण गराउँदै उनले प्रस्तावलाई संवैधानिक व्यवस्थासँग मिलाउनुपर्नेमा जोड दिए ।
निधिको हस्तक्षेपपछि मञ्चमा तनाव बढ्यो । उनले प्रस्तावमाथि आफ्नो कुरा राख्न खोज्दा नेता डा. प्रकाशशरण महतसँग उनको भनाभनको अवस्था आयो । त्यसक्रममा निधिले महतलाई केहीबेरका लागि हट्न आग्रह गरेको दृश्य अहिले सामाजिक सञ्जालमा समेत व्यापक भाइरल भइरहेको छ ।
कांग्रेसभित्र धर्मको विषयमा रहेको मतभेद भाषणमा मात्र सीमित रहेन । प्रस्ताव सच्याउने प्रयास भएपछि मञ्चमा नेताहरूबीच शारीरिक रूपमा नै हस्तक्षेप गर्नुपर्ने अवस्था आयो ।
निधिले प्रस्तावमा परिवर्तन गर्न खोजेपछि उनलाई रोक्न शंकर भण्डारी, दीपक कुइँकेललगायतका नेताहरू अघि बढे । केही नेताले निधिलाई आसनतर्फ फर्काए ।
बाहिरबाट हेर्दा यो एउटा सामान्य प्रस्तावमाथिको विवाद जस्तो देखिए पनि घटनाले कांग्रेसभित्र धर्मनिरपेक्षता र सनातन सांस्कृतिक पहिचानलाई लिएर रहेको वैचारिक दूरीलाई मञ्चमै उजागर गरिदियो ।
कांग्रेसका एक नेताका अनुसार विवादको जड हिन्दु धर्म मान्ने वा नमान्ने भन्ने व्यक्तिगत विषयभन्दा पनि त्यसलाई पार्टीको आधिकारिक राजनीतिक दस्तावेजमा कुन भाषामा र कुन संवैधानिक सीमाभित्र राख्ने भन्ने विषय थियो ।
‘कांग्रेसभित्र धार्मिक स्वतन्त्रतामाथि विवाद छैन । समस्या पार्टीको दस्तावेजमा प्रयोग गरिएको भाषाले भविष्यमा के राजनीतिक अर्थ दिन्छ भन्ने हो । संविधानको मर्म र पार्टीको परम्परागत लोकतान्त्रिक चरित्र दुवैलाई ध्यान दिनुपर्छ भन्ने हाम्रो धारणा हो,’ ती नेताले भने ।
मञ्चमा विवाद भइरहँदा सनातन हिन्दु राष्ट्र अभियानको नेतृत्व गरिरहेका शंकर भण्डारीले भने यसलाई कांग्रेसको वैचारिक यात्रामा महत्वपूर्ण मोडका रूपमा व्याख्या गरेका छन् ।
देउवाको भनाइले थप्यो अर्थ
विवादको अर्को महत्त्वपूर्ण पाटो शेरबहादुर देउवाको अभिव्यक्ति हो । भेलालाई सम्बोधन गर्दै देउवाले आफू हिन्दु भएको र आफ्नो धार्मिक आस्थालाई सार्वजनिक रूपमा व्यक्त गर्न पाउने अधिकार आफूलाई पनि रहेको बताएका थिए । उनले नेपालमा मुस्लिम, किराँतलगायत विभिन्न धार्मिक समुदाय रहेको उल्लेख गर्दै आफू कुनै धर्मको विरोधी नभएको स्पष्ट पारे ।
देउवाको यो भनाइले कांग्रेसको पछिल्लो राजनीतिक बहसलाई थप अर्थपूर्ण बनाएको छ । किनकि कांग्रेसले एकातिर धर्मनिरपेक्ष संविधानको पक्षमा आफूलाई उभ्याउँदै आएको छ भने अर्कोतिर अहिले पार्टीको राजनीतिक प्रस्तावमै सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता आएको छ ।
यसले कांग्रेसको आगामी राजनीतिक यात्रामा धर्म, संस्कृति र राष्ट्रिय पहिचानको प्रश्नले नयाँ स्थान बनाउन थालेको संकेत गरेको छ ।