दुर्गालाई छाड्दै धवलशमशेरले दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । डा. धवलशमशेर राणाले ‘जय नेपाल पार्टी’ दर्ता गरेका छन् । शुक्रबार निर्वाचन आयोगमा उनले नयाँ पार्टी दर्ता गरेका हुन् ।

दर्तापश्चात सञ्चारकर्मीसँगको प्रतिक्रियामा उनले भने, ‘जय नेपाल पार्टी निर्वाचन आयोगमा आज विधिवत दर्ता गरेका छौं । राष्ट्रवादी दल निर्माण गर्ने क्रममा सहयोग गर्ने, सुभेच्छा राख्ने सबैप्रति कृतज्ञ छौं ।’

जय नेपाल पार्टीको सभापति धवलशमशेर राणा नै रहेका छन् । 

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पार्टीको सर्वोच्च नेता बनाउने घोषणा गरिए पनि उनी राणासँग अलग भएका छन् । 

प्रारम्भिक चरणमा राणा र प्रसाईं दुवैलाई एउटै राजनीतिक दलमा समेट्ने सहमति बनेको थियो । त्यसअनुसार राणा अध्यक्ष र प्रसाईं सर्वोच्च नेता रहने समझदारी भएको थियो । 

तर, संगठनको नेतृत्व, वरीयता र निर्णय गर्ने अधिकारका विषयमा विवाद बढेपछि सहकार्य टिक्न नसकेको बुझिएको छ । 

पार्टीभित्र आफ्नो वरीयता पहिलो हुनुपर्ने र महत्वपूर्ण कार्यकारी अधिकारसमेत आफूले पाउनुपर्ने प्रसाईंको मागपछि दुई पक्षबीच मतभेद चुलिएको बताइएको छ । 

राणा पक्षले उक्त प्रस्ताव स्वीकार नगरेपछि संयुक्त पार्टी निर्माणको योजना प्रभावित भएको हो । 

विवादकै बीच प्रसाईंले पछिल्लो समय दिएका सार्वजनिक अभिव्यक्तिले पनि दुई पक्षबीचको दूरी बढाएको बताइएको छ । 

प्रसाईंले एक अन्तर्वार्तामा राणाको राजनीतिक दृष्टिकोणप्रति प्रश्न उठाउँदै राजसंस्था पुनःस्थापनाका विषयमा उनीहरूको धारणा समान नरहेको संकेत गरेका थिए । 

प्रसाईं पक्षका नेताहरूले भने तत्काल दल दर्ता गर्नुभन्दा केही समय लिएर सहमति खोज्नुपर्ने धारणा राखेका थिए ।तर, राणा पक्षले पूर्वनिर्धारित कार्यक्रमअनुसार नै दल दर्ता गरेको हो । 

Share News