काठमाडौं । एनसेलले नेपाली व्यवसायहरूलाई लक्षित गर्दै डोमेन दर्ता र वेब होस्टिङ सेवा एकै ठाउँबाट उपलब्ध गराउने गरी ‘एनसेल बिजनेस क्लाउडसुइट’ सेवा सञ्चालनमा ल्याएको छ ।
डिजिटल रूपान्तरणतर्फ अघि बढिरहेका नेपालका स्टार्टअप, उद्यमी, शैक्षिक संस्था तथा विभिन्न सङ्गठनहरूका लागि भरपर्दो र देशभित्रै सहज पहुँच भएको वेब पूर्वाधार प्रदान गर्ने उद्देश्यले यो सेवा सुरु गरिएको हो ।
यो एकीकृत प्लेटफर्ममार्फत ग्राहकहरूले डोमेन दर्ता, नवीकरण, ट्रान्सफर सहयोग, डीएनएस व्यवस्थापन, सबडोमेन म्यानेजमेन्ट र केन्द्रीकृत डोमेन एड्मिनिस्ट्रेसन जस्ता सुविधाहरू सजिलै उपभोग गर्न सक्नेछन् ।
विदेशी मुद्रामा अन्तर्राष्ट्रिय होस्टिङ खरिद गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्दै एनसेलले ग्राहकहरूलाई नेपाली मुद्रामै भुक्तानी गर्ने सुविधा मिलाएको छ ।
व्यवसायको आकार र आवश्यकतालाई ध्यानमा राख्दै एनसेलले दुई प्रकारका प्याकेजहरू प्रस्तुत गरेको छ । मासिक १ हजार रुपैयाँ पर्ने बेसिक प्याकेजमा ३ जीबी साझा स्टोरेज, व्यावसायिक इमेल, एसएसएल सर्टिफिकेसन, स्वचालित ब्याकअप र सुरक्षा सुविधाहरू समावेश छन् ।
त्यसैगरी, बढ्दो डिजिटल आवश्यकता भएका व्यवसायका लागि मासिक २ हजार रुपैयाँमा प्रो प्याकेज उपलब्ध गराइएको छ, जसमा बढी स्टोरेज, २० वटासम्म व्यावसायिक इमेल, १० वटा डेटाबेस र ५ वटासम्म सबडोमेन लगायतका सुविधाहरू समेटिएका छन् ।
नेपालभित्रै डेटा होस्टिङ हुने भएकाले ग्राहकहरूले आफ्नो वेबसाइट डेटा र डिजिटल सम्पत्ति देशभित्रै सुरक्षित राख्न सक्नेछन् ।
यसले व्यवसायहरूलाई डेटामाथि पूर्ण नियन्त्रण कायम गर्न र नियामक मापदण्डहरू पूरा गर्न सहज बनाउनेछ । एनसेलका चिफ इन्टरप्राइज बिजनेस अफिसर डिओन एसेन्सिओका अनुसार स्थानीय पूर्वाधार र नेपाली रुपैयाँमा भुक्तानीको व्यवस्थाले नेपाली व्यवसायहरूलाई आत्मविश्वासका साथ डिजिटल यात्रा सुरु गर्न ठूलो मद्दत पुग्नेछ ।