ज्येष्ठ नागरिकमाथि दुर्व्यवहार गरेको भन्दै बलेफीका अधिकृतसँग स्पष्टीकरण माग

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमबहादुर राउतसँग स्पष्टीकरण मागेको छ ।

गाउँपालिकाको कार्यलयमा सेवा लिन आएका एक ज्येष्ठ नागरिकप्रति गरिएको व्यवहारका सम्बन्धमा उजुरी तथा गुनासो प्राप्त भएपछि मन्त्रालयले राउतसँग स्पष्टीकरण मागेको हो ।

मन्त्रालयको पत्रअनुसार पत्र प्राप्त भएको मितिले तीन दिनभित्र मन्त्रालयमा उपस्थित भई लिखित स्पष्टीकरण पेश गर्न प्रमुख प्रशासकीय अधिकृत राउतलाई निर्देशन दिइएको छ ।

मन्त्रालयले सार्वजनिक पदमा रहेका पदाधिकारी तथा कर्मचारीले सेवाग्राहीप्रति सम्मानजनक, मर्यादित र उचित व्यवहार गर्नुपर्ने भन्दै ज्येष्ठ नागरिकप्रति त्यस्तो व्यवहार नगर्नुको कारणबारे लिखित स्पष्टीकरणसमेत मागेको छ ।

Share News