काठमाडौँ । कृषि विकास बैंक लिमिटेड र टोखास्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालबीच दुवै संस्थाका कर्मचारी, चिकित्सक तथा परिवारजनलाई स्वास्थ्य र बैंकिङ सेवामा विशेष छुट तथा सुविधा प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौता पत्रमा कृषि विकास बैंकका उपमहाप्रवन्धक सुशिल हुंमागाइ र ग्रान्डी अस्पतालका मुख्य सञ्चालन अधिकृत कर्णेल अमृत खन्नाले हस्ताक्षर गरेका हुन् ।
कार्यक्रममा बैंकका विभागीय प्रमुख वीना शर्मा, वरिष्ठ शाखा प्रमुख ध्रुव पौडेल, व्यवसाय अधिकृत मणिराज ढुंगाना तथा अस्पतालका सहायक महाप्रबन्धक अर्चना प्रधान, वरिष्ठ अधिकृत मौलिका देउजा र अधिकृत माधव शर्माको उपस्थिति रहेको थियो ।
सम्झौता अनुसार ग्रान्डी अस्पतालले कृषि विकास बैंकका बहालवाला तथा पूर्वकर्मचारी र तिनका आश्रित परिवारलाई स्वास्थ्योपचार, ल्याब, एक्स-रे, भिडियो एक्स-रे, बेड चार्ज, सर्जरी र वेलनेस प्याकेजमा विशेष छुट उपलब्ध गराउनेछ ।
साथै, टेलि-कन्सल्टेसन, रोड तथा हेलि सर्भिसमार्फत आपतकालीन उद्धार सुविधा र स्वास्थ्य सचेतना कार्यक्रमहरूमा पनि प्राथमिकता प्रदान गरिनेछ । यसबाट बैंकका कर्मचारी र परिवारजनलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पुग्ने अपेक्षा गरिएको छ ।
यसैगरी, कृषि विकास बैंकले ग्रान्डी अस्पतालका चिकित्सक, नर्स, प्यारामेडिक्स तथा सम्पूर्ण कर्मचारीहरूका लागि डिजिटल बैंकिङ, डेबिट/क्रेडिट कार्ड, लकर सुविधाका साथै घर, सवारी र शिक्षा कर्जालगायतका विभिन्न कर्जाको सेवा शुल्क र प्रिमियम दरमा विशेष छुटको व्यवस्था गरेको छ ।
वैदेशिक मुद्रा सटही तथा रेमिट्यान्स सेवामा पनि सहुलियत दिइनेछ । दुवै संस्थाका कर्मचारीहरूले आ–आफ्नो आधिकारिक परिचयपत्र प्रस्तुत गरी यी सुविधाहरू उपभोग गर्न सक्नेछन्। यस सहकार्यले दुवै पक्षको संस्थागत सम्बन्ध विस्तार र व्यावसायिक साझेदारीलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ ।