सहकारीका भीआईपी बचकर्ताको बचत फिर्ताको प्रक्रिया सुरु

एक करोड बढीको बचत फिर्ताको आवेदन दिन आव्हान

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारीका ठूला बचतकर्ताको बचत फिर्ताको प्रक्रिया सुरु गरेको छ । समितिले ठूला बचतकर्ताको तथ्यांक राख्न र बचत फिर्ता गर्न प्रक्रिया सुरु गरेको हो । 

विभिन्न समयमा घोषणा गरेका समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताहरूमध्ये एक करोड वा सोभन्दा बढी बचत रकम भएका तथा अनलाइन मागदाबी प्रणालीमा दाबी गरेका बचतकर्ताले संलग्न बमोजिमको स्वघोषणा फाराम भरी समितिमा बुझाउन आग्रह गरिएको छ । 

बचतकर्ताले फाराम भर्दा बचत रकम पूर्णरूपमा वैधानिक, नैतिक र प्रचलित कानून बमोजिमको आयस्रोत (जस्तैः व्यापार, पारिश्रमिक, घरजग्गा विक्री, पैतृक सम्पत्ति, वैदेशिक रोजगारी आदि) बाट आर्जन गरी जम्मा गरेको भन्ने विषय खुलाउनु पर्नेछ । 

उल्लिखित रकम आर्जन गर्दा प्रचलित कानून बमोजिम लाग्ने सम्पूर्ण कर चुक्ता गरेको, सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिमको कसूर, आतङ्कवादमा वित्तीय लगानी, भ्रष्टाचार वा अन्य कुनै पनि प्रकारको फौजदारी कसूरजन्य कार्यबाट आर्जित गरिएको होइन भन्ने विषय खुलाउनु पर्नेछ । 

बचत फिर्ता सम्बन्धी विषयमा कुनै अड्डा, अदालत, न्यायिक वा अर्धन्यायिक निकाय, प्रहरी वा अनुसन्धान गर्ने निकायमा कुनै पनि नालेस÷दाबी÷उजुरबाजुर गरेको छैन भन्ने विषय पनि खुलाउनुपर्नेछ भने बचत मिलानको रकम बराबरको बचतको हकमा बचत फिर्ताको विषयलाई लिएर भविष्यमा समेत कतै नालेस वा उजुरबाजुर गर्ने छैन भन्ने विषय पनि प्रतिवद्धता गर्नु पर्नेछ । 
 

Share News