मंगलबारदेखि नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले भृकुटीमण्डपमा दोस्रो संस्करण नाइमा मोबिलिटी एक्स्पोको आयोजना गर्दैछ । जसको तयारी अन्तिम चरणमा पुगेको नाइमाले जनाएको छ । यसपटकको एक्स्पोमा ४० वटा नयाँ ब्राण्डहरू लन्च हुँदैछन् भने पहिलो संस्करणभन्दा व्यवस्थित र सुविधासम्पन्न हुने नाइमाले दाबी गरेको छ । एक्स्पोको तयारी, व्यवस्थापन र अटो व्यवसायीहरूको उत्साहबारे विकासन्युजका नरेन्द्र विष्टले नाइमाकी अध्यक्ष तथा नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटकी प्रबन्ध निर्देशक ऋतुसिंह वैद्यसँग कुराकानी गरेका छन् ।
मंगलबारदेखि नाइमा मोबिलिटी एक्स्पो २०२६ को दोस्रो संस्करण सुरु गर्दै हुनुहुन्छ । यसपटकको तयारी र उत्साहलाई कसरी हेर्नुभएको छ ?
यतिबेला हामी नाइमा नेपालको तर्फबाट निकै उत्साहित र व्यस्त छौं । नाइमा मोबिलिटी एक्स्पोको यो दोस्रो संस्करण हो । गत वर्ष हामीले पहिलोपटक मोबिलिटी एक्स्पोको अवधारणा ल्याएका थियौं । जसलाई उपभोक्ता र व्यवसायी दुवैले निकै रुचाउनुभयो । यो केवल गाडी प्रदर्शनी मात्र होइन, यो त नेपालको अटोमोबाइल क्षेत्रको एउटा उत्सव हो ।
यसपालिको प्रदर्शनी अघिल्लो वर्षको तुलनामा निकै बृहत् र व्यवस्थित छ । गत वर्ष ४२ वटा ब्रान्ड सहभागी भएका थिए भने यसपटक ५५ वटाभन्दा बढी ब्रान्डहरू एउटै छानामुनि समेटिएका छन् । ४० वटा नयाँ ब्राण्ड लन्च हुँदैछन् । यसले के देखाउँछ भने अर्थतन्त्रमा केही सुस्तता देखिए पनि व्यवसायीहरूमा उत्साह मरेको छैन ।
हामीले भृकुटीमण्डपलाई एउटा यस्तो साझा थलोका रूपमा विकास गरेका छौं, जहाँ ग्राहकले गाडी मात्र हेर्ने होइन, त्यससँग जोडिएका सबै सुविधाहरू जस्तै बैंकिङ, इन्स्योरेन्स र एसेसरीजहरू एउटै ठाउँमा प्राप्त गर्न सक्नुहुन्छ ।
एउटा गाडीप्रेमी वा सम्भावित ग्राहकले यसपटकको एक्स्पोमा कस्तो फरक अनुभव पाउनेछन् ?
सामान्यतया कुनै ग्राहकलाई गाडी किन्न मन लाग्यो भने उहाँले विभिन्न शोरुमहरू धाउनुपर्ने हुन्छ । काठमाडौंका फरक-फरक कुनामा रहेका शोरुम पुग्न ट्राफिक जाम र समयको हिसाबले निकै कठिन हुन्छ । तर नाइमा एक्स्पोमा आउनुभयो भने तपाईंले ५५ वटा ब्रान्डलाई एकापसमा कम्पेयर अर्थात् तुलना गर्न पाउनुहुन्छ ।
यसपटक ४० वटाभन्दा बढी नयाँ गाडीहरू सार्वजनिक हुँदैछन् । यसको अर्थ हो, विश्व बजारमा आएका पछिल्ला प्रविधि र डिजाइनहरू नेपाली ग्राहकले प्रत्यक्ष हेर्न र अनुभव गर्न पाउनुहुनेछ । हामीले एक्स्पोलाई केवल व्यावसायिक मात्र बनाएका छैनौं । यसलाई एउटा पारिवारिक गन्तव्यका रूपमा पनि विकास गरेका छौं । त्यहाँ गुणस्तरीय रेष्टुरेन्टहरू छन्, मनोरञ्जनको व्यवस्था छ र सुरक्षाको पूर्ण ग्यारेन्टी छ ।
सबैभन्दा महत्त्वपूर्ण कुरा यसपालि हामीले लर्निङ सेसन्स अर्थात् सिकाइ सत्रलाई निकै प्राथमिकता दिएका छौं । गाडी कसरी चलाउने, ट्राफिक नियम के हुन्, विद्युतीय सवारी (ईभी) को प्रविधि कसरी काम गर्छ भन्ने जस्ता विषयमा विज्ञहरूले जानकारी दिनेछन् । त्यसैले गाडी किन्ने योजना नभएकाहरूले पनि अटोमोबाइलको बदलिँदो संसार बुझ्न एकपटक आउनैपर्छ ।
नेपाली बजारमा यतिबेला चिनियाँ ब्रान्डहरूको बाढी नै आएको देखिन्छ, विशेषगरी विद्युतीय सवारी (ईभी) मा । यसलाई नाइमाले कसरी विश्लेषण गरिरहेको छ ?
नेपालको सन्दर्भमा ईभी निकै सान्दर्भिक छ । हाम्रो देशको मुख्य ऊर्जा स्रोत भनेको हाइड्रोपावर (जलविद्युत) हो । सरकारले पनि ईभीलाई निकै प्रोत्साहन गरिरहेको छ र यो सकारात्मक कुरा हो । चिनियाँ ब्रान्डहरूले विश्वव्यापी रूपमै ईभी प्रविधिमा ठूलो फड्को मारेका छन्। नेपालमा पनि उनीहरूको उपस्थिति बलियो हुनुको मुख्य कारण सरकारको नीति र हाम्रो आफ्नै विद्युत खपत बढाउने आवश्यकता नै हो ।
विद्युतीय सवारीसाधनले वातावरण संरक्षणमा मात्र होइन, वैदेशिक मुद्रा सञ्चितिमा पनि सहयोग पुर्याउँछ । तर, यसको अर्थ यो होइन कि अन्य इन्धनका गाडीहरू पूर्ण रूपमा विस्थापित हुन्छन् । हाम्रो भौगोलिक अवस्था र पूर्वाधार अनुसार हाइब्रिड र अन्य विकल्पहरू पनि उत्तिकै आवश्यक छन् । नाइमाले सधैं भन्दै आएको छ कि प्रविधि जुनसुकै होस्, त्यो ग्राहकको आवश्यकता र देशको पूर्वाधारसँग सुहाउँदो हुनुपर्छ । ईभीको यो
लहरले नेपालको अटो क्षेत्रलाई आधुनिकतातर्फ डोर्याइरहेको छ ।
व्यवसायीहरूका केही गुनासाहरू पनि सुनिन्छन् । जस्तै, बाटो र पूर्वाधारको अभावले गर्दा गाडीहरू बोर्डरमै अड्किने समस्या । अहिले पनि चिनियाँ बोर्डर (केरुङ/तातोपानी) तिर ठूलो समस्या छ भनिन्छ । यसले एक्स्पोलाई कत्तिको असर पारेको छ ?
तपाईंले समसामयिक विषय उठाउनुभयो । अहिले हाम्रो सबैभन्दा ठूलो टाउको दुखाइ नै यही बोर्डरको समस्या हो । वर्षायाम लागेपछि हरेक वर्ष केरुङ र तातोपानीको बाटो भत्किने र पहिरो जाने समस्या दोहोरिन्छ । यसपटक पनि हाम्रा कतिपय प्रदर्शक (एक्जिबिटर्स) हरूका नयाँ गाडीहरू बाटोमै अड्किएका छन् । हामीले यस विषयमा अर्थमन्त्रीज्यू र राष्ट्र बैंकसँग पनि समन्वय गरिरहेका छौं । हामीले विशेष अनुरोध गरेका छौं कि एक्स्पोलाई मध्यनजर गर्दै भन्सार कार्यालयहरू शनिबार र आइतबार पनि खोलिउन् ताकि गाडीहरू समयमै काठमाडौं आइपुग्न सकून् । सरकारबाट सकारात्मक जवाफ त आएको छ । तर हाम्रो पूर्वाधारको अवस्था यस्तो छ कि कहिले बाटो बग्छ, कहिले पहिरो आउँछ । यसले व्यवसायीहरूको अर्बौंको लगानी जोखिममा पार्छ । सरकारले दीर्घकालीन रूपमा यी व्यापारिक नाकाहरूको पूर्वाधारमा लगानी नगरेसम्म यस्ता समस्या आइरहने देखिन्छ ।

अर्थतन्त्रको सुस्तता र राजनीतिक अस्थिरताका बाबजुद तपाईंहरू प्रदर्शनी गर्दै हुनुहुन्छ । अहिलेको नयाँ सरकार र राष्ट्र बैंकको नीतिबाट अटोमोबाइल व्यवसायीहरू कत्तिको सन्तुष्ट छन् ?
राजनीतिमा केही स्थिरता आउनु व्यवसायीहरूका लागि सकारात्मक संकेत हो । अहिलेको सरकारले केही गर्ने उत्साह देखाएको छ । तर, अटोमोबाइल क्षेत्र अझै पनि केही कडा नीतिहरूको मारमा छ । जस्तै, हायर पर्चेज कर्जाको सीमा, जोखिम भार (रिस्क वेटेज) र भन्सार दरका कुराहरू । हामीलाई विश्वास छ कि यो ट्रान्जिसन पिरियड (संक्रमणकाल) सकिएपछि सरकार र राष्ट्र बैंकले अटो क्षेत्रलाई लक्जरीमात्र नभई आवश्यकताको रूपमा बुझ्नेछन् । अटोमोबाइल क्षेत्रले राज्यलाई ठूलो मात्रामा राजस्व योगदान गर्छ । यदि यो क्षेत्र सुस्त भयो भने राज्यको ढुकुटीमा पनि असर पर्छ । एक्स्पोले बजारमा एक प्रकारको चलायमान स्थिति सिर्जना गर्नेछ र यसले सुस्ताएको अर्थतन्त्रलाई केही हदसम्म अक्सिजन दिने काम गर्नेछ भन्ने मेरो अपेक्षा छ ।
गाडी बिक्री भएपछि स्पेयर पार्ट्स र सर्भिसिङ नपाउने गुनासाहरू धेरै आउँछन् । नाइमाले आफ्ना सदस्यहरूलाई यस विषयमा कसरी जिम्मेवार बनाइरहेको छ ?
नाइमाले सधैं आफ्टर सेल्स सर्भिस अर्थात् बिक्रीपछिको सेवालाई प्राथमिकता दिनुपर्छ भन्दै आएको छ । एउटा गाडी बेच्नु भनेको एउटा सम्बन्धको सुरुवात मात्र हो । यदि ग्राहकले समयमा पार्ट्स र सर्भिस पाएनन् भने त्यो ब्रान्ड लामो समय टिक्न सक्दैन । हामीले हाम्रा सदस्य इम्पोर्टर्स (आयातकर्ता) हरूलाई एउटा बलियो इकोसिस्टम बनाउन प्रोत्साहन गरिरहेका छौं । एउटा सन्तुष्ट ग्राहकले १० जना नयाँ ग्राहक ल्याउँछ, तर एउटा असन्तुष्ट ग्राहकले सयौंलाई भड्काउन सक्छ । त्यसैले हामीले डिलर नेटवर्कलाई व्यवस्थित गर्ने र मेकानिक्सहरूलाई तालिम दिने काम गरिरहेका छौं । यसपटकको एक्स्पोमा सहभागी कम्पनीहरूलाई पनि हामीले उनीहरूको सेवा र पार्ट्सको उपलब्धता सुनिश्चित गर्न आग्रह गरेका छौं । ग्राहकहरूले पनि गाडी किन्दा ब्रान्ड मात्र होइन । त्यसको सर्भिस हिस्ट्री र बजारमा उसको उपस्थितिको पनि जाँच गर्नुपर्छ ।
प्रदर्शनीमा जाने अवलोकनकर्ताका लागि टिकट र अन्य सुविधाहरूमा के-के व्यवस्था गर्नुभएको छ । सुनिन्छ, यसपालि केही डिजिटल सहुलियत पनि छ ?
हो, हामीले यसपालि डिजिटल पेमेन्टलाई प्रोत्साहन गरेका छौं । टिकटको मूल्य सामान्यका लागि २०० रुपैयाँ र विद्यार्थीहरूका लागि १०० रुपैयाँ तोकिएको छ । तर, यदि तपाईंले खल्ती एपमार्फत टिकट काट्नुभयो र युनियन पेबाट भुक्तानी गर्नुभयो भने ५० प्रतिशतसम्म क्यासब्याकको व्यवस्था गरिएको छ । यसले ग्राहकलाई आर्थिक भार कम गर्नेछ र लाइन बस्ने झन्झटबाट पनि मुक्ति दिनेछ । गत वर्ष करिब १ लाख मानिसले एक्स्पो अवलोकन गरेका थिए । यसपालि त्यो संख्या अझ बढ्ने हाम्रो अनुमान छ । किनभने मानिसहरूमा अटोमोबाइलप्रतिको चासो बढ्दो छ र यसपालि धेरै नयाँ ब्रान्डहरू पनि थपिएका छन् ।
नाइमा केवल गाडी बेच्ने संस्था मात्र होइन, यसले सामाजिक उत्तरदायित्वका कामहरू पनि गरिरहेको छ भनेर तपाईंहरु दाबी गरिरहनुहुन्छ ? यसका बारेमा थप प्रष्ट पारिदिनूस् न ।
नाइमाले व्यावसायिक हितका साथै समाजका लागि पनि धेरै काम गरिरहेको छ । हामीले नेपाल ट्राफिक पुलिससँग मिलेर करिब १६०० जना ट्राफिक प्रहरीलाई तालिम दिएका छौं । विशेषगरी नयाँ प्रविधिका गाडीहरू ईभी र हाइब्रिड गाडीहरूको मेकानिजम कसरी चल्छ, सडक दुर्घटना हुँदा कसरी उद्धार गर्ने भन्ने प्राविधिक ज्ञान उहाँहरूलाई दिएका छौं । त्यसैगरी हामीले विभिन्न क्याम्पसहरूमा पुगेर विद्यार्थीहरूलाई सुरक्षित ड्राइभिङ र अटोमोबाइल इन्जिनियरिङका बारेमा जानकारी दिने गरेका छौं । सडक सुरक्षा र वातावरण संरक्षण हाम्रा प्राथमिकताका विषय हुन् । प्रदर्शनीस्थलमै पनि हामीले सडक सुरक्षासम्बन्धी सचेतनामूलक कक्षहरू राखेका छौं ।
तपाईं नाइमाको अध्यक्ष मात्र होइन, नेपालमा टोयोटाजस्तो प्रतिष्ठित ब्रान्डको नेतृत्व पनि गरिरहनुभएको छ । टोयोटाको स्टलमा यसपटक ग्राहकले के-के विशेष कुरा देख्न पाउनेछन् ?
टोयोटाको तर्फबाट हामी निकै उत्साहित छौं । यसपालि हामीले टोयोटाका दुईवटा नयाँ मोडलहरू सार्वजनिक गर्दैछौं । ती मोडलहरू कुन हुन् भन्ने कुरा हामीले एक्स्पोमै सार्वजनिक गर्ने योजना बनाएका छौं । त्यसैले अहिलेलाई त्यो एउटा सरप्राइज नै रहोस् । युनाइटेड ट्रेडर्स सिन्डिकेटले टोयोटा मात्र होइन, अन्य ब्रान्डहरू पनि ल्याएको छ । जस्तै, एथर इलेक्ट्रिक स्कुटर, जसले बजारमा निकै राम्रो प्रतिक्रिया पाइरहेको छ । साथै मोर्बिडेली र बेनेलीजस्ता प्रिमियम मोटरसाइकलहरू पनि हाम्रा स्टलमा हुनेछन् । ग्राहकले टोयोटाको स्टलमा पुगेपछि एउटा पूर्ण अनुभव पाउनुहुनेछ । हामीले विशेष फाइनान्सिङ र इन्स्योरेन्स अफरहरू पनि ल्याएका छौं ।
के यसपटकको प्रदर्शनीमा टोयोटाको ईभी पनि देख्न पाइन्छ ?
टोयोटा सधैं गुणस्तर र सुरक्षामा विश्वास गर्छ । ईभीको सन्दर्भमा टोयोटाले विश्वव्यापी रूपमा ठोस योजनाका साथ काम गरिरहेको छ । नेपालमा यसपटक हामीले ईभी प्रदर्शनीमा राख्न नसके पनि आउँदो वर्षको सुरुवाती महिनाहरूमा टोयोटाको ईभी नेपाली सडकमा देख्न पाइनेछ । हामी हाम्रा ग्राहकलाई यस्तो गाडी दिन चाहन्छौं । जसले उनीहरूको लगानीको पूर्ण सुरक्षा गरोस् । त्यसैले, केही समयको पर्खाइपछि टोयोटाको उत्कृष्ट ईभी नेपाल आउनेछ ।
नाइमा स्थापना भएयता नेपालको अटोमोबाइल क्षेत्रमा कस्तो गुणात्मक परिवर्तन देख्नुहुन्छ ?
नाइमा स्थापना हुँदा नेपालमा गाडी भनेको केवल धनाढ्यहरूको सोखको विषय मात्र थियो । तर आज गाडी एउटा आवश्यकता बनेको छ । नाइमाले व्यवसायीहरूलाई गोलबद्ध मात्र गरेको छैन । सरकारलाई नीति निर्माणमा पनि दबाब र सल्लाह दिने काम गरेको छ । आज हामी यस्तो मोडमा छौं जहाँ प्रविधिले हाम्रो यातायात शैली बदल्दैछ । १० वर्षअघि ईभीको कुरा गर्दा मान्छे हाँस्थे, तर आज हरेक शोरुममा ईभी प्राथमिकतामा छ । प्रविधिको यो हस्तान्तरण नै नाइमा र नेपाली अटो क्षेत्रको ठूलो उपलब्धि हो । अबको हाम्रो ध्यान पूर्वाधार विकास र सडक सुरक्षामा हुनुपर्छ ।
अन्तमा आम नेपाली उपभोक्ता र गाडी प्रेमीहरूलाई तपाईंको सन्देश के छ ?
म सबै नेपाली दाजुभाइ, दिदीबहिनी र विशेषगरी युवा साथीहरूलाई भन्न चाहन्छु, ११ अक्टोबरदेखि १६ अक्टोबरसम्म भृकुटीमण्डपमा आयोजना हुने नाइमा मोबिलिटी एक्स्पो २०२६ मा आउनूहोस् । यहाँ तपाईंले केवल गाडी मात्र देख्नुहुने छैन, भविष्यको यातायात कस्तो हुन्छ भन्ने झलक पाउनुहुनेछ । यदि तपाईं गाडी किन्ने योजनामा हुनुहुन्छ भने यो सबैभन्दा उत्तम समय हो । प्रदर्शनीमा कम्पनीहरूले वर्षभरिकै सबैभन्दा राम्रो डिस्काउन्ट र अफरहरू दिएका हुन्छन् । यदि तपाईं गाडी किन्ने अवस्थामा हुनुहुन्न भने पनि आएर गाडीहरूको नयाँ प्रविधि हेर्नूहोस् । लर्निङ सेसनमा सहभागी हुनूहोस् र अटोमोबाइलको संसारलाई नजिकबाट नियाल्नूहोस् । प्रदर्शनी बिहान १० बजेदेखि साँझ ६ बजेसम्म खुला रहनेछ । प्रदर्शनी स्थलको ठ्याक्कै अगाडि रहेको नेपाल पुलिस क्लबको हलमा हुने निःशुल्क लर्निङ सेसनमा पनि सहभागी भइदिनूहोला ।