काठमाडौं । आईएमई खल्ती लिमिटेड (खल्ती) ले नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ मा आफ्ना प्रयोगकर्तालाई सहभागी गराउने व्यवस्था गरेको छ ।
अब खल्तीमार्फत १०० रुपैयाँभन्दा बढीको योग्य डिजिटल भुक्तानी गर्ने प्रयोगकर्ता स्वतः दैनिक र पाक्षिक उपहार योजनामा सहभागी हुनेछन् ।
कार्यक्रमअन्तर्गत हरेक दिन एक जना विजेताले कर कट्टीपछि १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
यस्तै, प्रत्येक १५ दिनमा एक जना बम्पर विजेताले १० लाख रुपैयाँ जित्नेछन् ।
खल्तीका अनुसार योग्य कारोबारको विवरण सुरक्षित प्रणालीमार्फत स्वतः आन्तरिक राजस्व विभागको प्लेटफर्ममा पुग्नेछ ।
योग्य कारोबार भएपछि उपहार कुपन पनि स्वतः सिर्जना हुनेछ। प्रयोगकर्ताले उक्त कुपन खल्ती एपमै हेर्न सक्नेछन् ।
आन्तरिक राजस्व विभागले प्रत्येक महिनाको १ र १६ गते स्वचालित प्रणालीमार्फत विजेता छनोट गर्ने जनाएको छ। विजेतालाई मोबाइल फोन र इमेलमार्फत जानकारी दिइनेछ ।
खल्तीमार्फत विजेता बनेका प्रयोगकर्तालाई खल्तीले पनि विभिन्न माध्यमबाट जानकारी गराउने जनाएको छ ।
खल्तीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले सरकारको डिजिटल कर प्रणालीलाई प्रभावकारी बनाउन सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे ।
उनले डिजिटल भुक्तानी विस्तार, वित्तीय पारदर्शिता प्रवर्द्धन र औपचारिक अर्थतन्त्रको विस्तारमा खल्तीले निरन्तर योगदान गर्ने बताए ।