जब उडेको ३० सेकेन्डमै रकेटमा चट्याङ पर्यो...

काठमाडौं । चीनको एउटा रकेट प्रक्षेपण भएको करिब ३० सेकेन्डमै चट्याङको चपेटामा पर्यो । आकाशमा बिजुली चम्किँदै गर्दा रकेटमै चट्याङ परेको दृश्य क्यामेरामा कैद भएपछि उक्त भिडियो अहिले सामाजिक सञ्जालमा चर्चामा छ । 

तर, चट्याङ लागे पनि रकेट आफ्नो मार्गबाट विचलित नभई सफलतापूर्वक अन्तरिक्षतर्फ अघि बढ्यो ।

यो घटना गत जुलाई २३ को हो । चीनले दक्षिणपश्चिमी सिचुआन प्रान्तस्थित छिचाङ स्याटेलाइट लन्च सेन्टरबाट स्थानीय समयअनुसार राति ८ बजे लङ मार्च–३ बी रकेट प्रक्षेपण गरेको थियो । 

रकेटले तियानलियन–२–०६ नामक डाटा रिले स्याटेलाइट बोकेको थियो ।

प्रक्षेपण भएको केही समयमै रकेटमाथि अचानक चट्याङ परेको थियो । भिडियोमा रकेटको तल्लो भागतिर चट्याङ चम्किएको देखिन्छ । केही क्षणका लागि आकाश नै उज्यालो बने पनि रकेटको उडानमा कुनै स्पष्ट अवरोध देखिएन । 

रकेटले आफ्नो उडान जारी राख्दै स्याटेलाइटलाई निर्धारित कक्षमा पुर्यायो ।

चीनको चाइना एरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेसन (सीएएससी) का अनुसार प्रक्षेपण मिसन पूर्ण रूपमा सफल भएको थियो । 

तियानलियन–२–०६ स्याटेलाइटलाई भू–स्थिर स्थानान्तरण कक्षमा पुर्याइएको हो । यो स्याटेलाइटले चीनको थियानगोङ अन्तरिक्ष स्टेसन लगायतका अन्तरिक्षयान र पृथ्वीमा रहेका ग्राउन्ड स्टेसनबीच डाटा आदानप्रदान तथा सञ्चारमा सहयोग गर्नेछ ।

रकेटमा चट्याङ पर्दा किन ठूलो क्षति भएन ?

रकेट प्रक्षेपणका क्रममा चट्याङ पर्नु सामान्य जोखिम भने होइन । विद्युतीय झड्काले रकेटभित्र रहेका इलेक्ट्रोनिक प्रणाली, सञ्चार उपकरण र उडान नियन्त्रण प्रणालीमा असर पार्न सक्छ । त्यसैले प्रक्षेपणका लागि मौसमको अवस्था निकै सावधानीपूर्वक मूल्याङ्कन गरिन्छ ।

तर आधुनिक रकेटमा चट्याङको जोखिम कम गर्न विभिन्न सुरक्षा प्रणाली राखिएका हुन्छन् । लङ मार्च–३बी जस्ता रकेटको धातुको बाहिरी संरचनाले विद्युतीय प्रवाहलाई बाहिरी सतह हुँदै तलतिर प्रवाहित गर्न सहयोग गर्ने भएकाले भित्रका संवेदनशील उपकरण सुरक्षित रहन सक्छन् । 

यस घटनामा पनि चट्याङको असरले रकेटको महत्त्वपूर्ण प्रणालीमा समस्या नपारेको देखिएको छ ।

केही विशेषज्ञ व्याख्याअनुसार रकेट तीव्र गतिमा बादलयुक्त वातावरणबाट माथि जाँदा त्यसले छाड्ने आयोनाइज्ड ग्यासको मार्गले समेत विद्युतीय डिस्चार्जलाई सहज बनाउन सक्छ । 

अर्थात् कहिलेकाहीँ रकेट आफैंले पनि चट्याङको बाटो बन्ने अवस्था सिर्जना गर्न सक्छ ।

प्रक्षेपणका क्रममा रकेटमा चट्याङ परेको यो पहिलो घटना भने होइन । सन् १९६९ मा अपोलो–१२ मिसनका क्रममा पनि रकेटमा दुईपटक चट्याङ परेको थियो । त्यसबाट केही विद्युतीय प्रणाली प्रभावित भए पनि मिसनलाई सफलतापूर्वक अघि बढाइएको थियो ।

त्यसैगरी सन् १९८७ मा एटलस–सेन्टौर ६७ पनि चट्याङको प्रहारमा परेको थियो । त्यस घटनाले रकेटको डिजिटल फ्लाइट कन्ट्रोल प्रणालीमा समस्या निम्त्याउँदै अन्ततः उडान असफल भएको थियो ।

यसपटक भने लङ मार्च–३बीले चट्याङको प्रत्यक्ष प्रहार सहँदै पनि आफ्नो उडानलाई निरन्तरता दियो र स्याटेलाइटलाई सफलतापूर्वक अन्तरिक्षमा पुर्यायो । 

त्यसैले रकेट प्रक्षेपणको क्रममा कैद भएको यो दृश्य अहिले अन्तरिक्ष प्रविधिको मजबुती देखाउने रोचक उदाहरणका रूपमा चर्चामा आएको छ ।

Share News