एभरेष्ट मार्टलाई २ लाख जरिवाना, नेपाल ग्यास उद्योगलाई निर्देशन

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंको ठहिटीस्थित एभरेष्ट मार्ट स्टोर प्रालिलाई अधिकतम खुद्रा मूल्य (एमआरपी) भन्दा बढी मूल्यमा वस्तु बिक्री गरेको पाइएपछि २ लाख रुपैयाँ जरिवाना गरेको छ ।

विभागले बजार अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत एमआरपीभन्दा बढी मूल्य असुलेको पुष्टि भएपछि उक्त कारबाही गरेको जनाएको छ ।

यस्तै, गृष्मा इन्टरप्राइजेज प्रालिलाई व्यवसायसँग सम्बन्धित कागजात, साउन १ गतेदेखि हालसम्मको ग्यास बिक्री विवरण तथा खरिद–बिक्री बिलसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

हिम इलेक्ट्रोनिक्स प्रालिविरुद्ध परेको टेलिभिजनको डिस्प्ले सम्बन्धी उजुरीमा वारेन्टी अवधिभित्रै मर्मत सम्पन्न भएको पुष्टि भएपछि विभागले सामान्य निर्देशन दिएको जनाएको छ ।

विभागका अनुसार मनकामना आर.एस. जेभीलाई एमआरपी लेबल भएका वस्तु मात्र बिक्री गर्न, अनिवार्य रूपमा बिल जारी गर्न तथा भोजनालय र भान्सामा प्रयोग हुने भाँडाकुँडाको सरसफाइमा विशेष ध्यान दिन निर्देशन दिइएको छ ।

खेमदेवी स्टोरले मागअनुसारका कागजात पेस गरेपछि विभागले ग्यासको कृत्रिम अभाव हुन नदिन, नियमित र सहज रूपमा बिक्री–वितरण गर्न तथा अनिवार्य रूपमा बिल जारी गर्न निर्देशन दिएको छ ।

त्यसैगरी नेपाल ग्यास उद्योग प्रालिलाई सरकारले तोकेको मापदण्ड र नियमानुसार बजारमा ग्यासको माग र आपूर्तिको व्यवस्थापन गर्न तथा गृष्मा इन्टरप्राइजेज प्रालि (अनामनगर) लाई ग्यासको समानुपातिक र विवादरहित वितरण सुनिश्चित गर्न निर्देशन दिइएको छ ।

एयरपोर्ट होटल प्रालिमा गरिएको अनुगमनका क्रममा होटलले आवश्यकता अनुसार मात्र ग्यास खरिद गरी प्रयोग गरेको पाइएकाले उपभोक्ता संरक्षण ऐनअनुसार व्यवसाय सञ्चालन गर्न निर्देशन दिइएको विभागले जनाएको छ ।

यस्तै, जेरो टु टेन प्रालिविरुद्ध परेको उजुरीमा उपभोक्तालाई सामान फिर्ता गरी रकमसमेत फिर्ता गरेको कागजात पेस गरेपछि आवश्यक परे विभागमा उपस्थित हुन तथा एमआरपी लेबल व्यवस्थापन थप प्रभावकारी बनाउन निर्देशन दिइएको छ ।

यसैगरी, न्यौपाने स्टोरलाई खरिद–बिक्री बिल, नापतौलसम्बन्धी कागजात व्यवस्थित राख्न र मूल्यसूची थप स्पष्ट बनाउन निर्देशन दिइएको छ भने श्री बीआईईटीलाई उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ अनुसार मापदण्ड पालना गरी व्यवसाय सञ्चालन गर्न विभागले निर्देशन दिएको छ।

null

Share News