काठमाडौं । भुक्तानी लिनुपर्ने सेवाग्राही गाउँपालिकाको कार्यालयको ढोका धाइरहेका थिए । उता, फाइल अघि बढाइदिने जिम्मेवारीमा रहेका कर्मचारी भने ‘कमिसन’को सौदाबाजीमा व्यस्त थिए ।
पटक–पटक रकम मागेर हैरानी दिएको आरोपपछि सेवाग्राही अख्तियारको सम्पर्कमा पुगे । त्यसपछि बिछ्याइएको योजनाअनुसारको निगरानी अन्ततः सफल भयो, र नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत बिरेन्द्र तामाङ काठमाडौंको बालाजुबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ परे ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार तामाङले भुक्तानी रकम निकासा गरिदिने क्रममा सेवाग्राहीसँग कमिसनको नाममा रकम माग्दै पटक–पटक बार्गेनिङ गरेका थिए । सेवाग्राहीलाई अनावश्यक दुःख र हैरानी दिएर घुस मागिरहेको भन्ने उजुरीका आधारमा आयोगले विशेष निगरानी थालेको थियो ।
टंगालस्थित अख्तियारको टोलीले काठमाडौं महानगरपालिका–१६, बालाजुमा सञ्चालन गरेको अपरेसनका क्रममा तामाङलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो । घटनास्थलबाट घुसस्वरूप लिइएको रकमसमेत बरामद गरिएको आयोगले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानले सार्वजनिक सेवासँग प्रत्यक्ष जोडिएको भुक्तानी प्रक्रियालाई प्रभावमा पार्दै आर्थिक लाभ लिन खोजिएको संकेत गरेको अख्तियारको भनाइ छ । आयोगले विशेष अदालतबाट म्याद थपको अनुमति लिएर तामाङविरुद्ध घुस–रिसवत तथा भ्रष्टाचारसम्बन्धी कसुरमा विस्तृत अनुसन्धान अघि बढाएको छ ।
पछिल्ला वर्षहरूमा स्थानीय तहमा विकास आयोजना, खरिद तथा भुक्तानी प्रक्रियासँग जोडिएका कमिसन र घुसका उजुरी उल्लेख्य रूपमा बढिरहेका छन् । यस्ता गतिविधिमाथि निगरानी बढाएको अख्तियारले सार्वजनिक सेवा लिँदा कसैले घुस वा कुनै पनि प्रकारको अनुचित लाभ मागे तत्काल सूचना दिन सर्वसाधारणलाई आग्रह गरेको छ ।